राजनीति


शिशिर र सुमनाको आरोपमा कांग्रेस नेता केसी: सरकारी जग्गा एक कित्ता पनि चाहिँदैन

शिशिर र सुमनाको आरोपमा कांग्रेस नेता केसी: सरकारी जग्गा एक कित्ता पनि चाहिँदैन

सुमना श्रेष्ठ, डा. केदारनरसिंह केसी र शिशिर खनाल


नेपालखबर
चैत २, २०८१ शनिबार १४:२४, काठमाडौँ

नेपाली कांग्रेसका नेता डा. केदारनरसिंह केसीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले सार्वजनिक जग्गासँग नाम जोडेर आफ्नो चरित्रहत्या गर्न खोजेको आरोप लगाएका छन्।

उनले शनिबार पत्रकार सम्मेलन गरी गत फागुन २८ मा प्रतिनिधिसभाको बैठकमा रास्वपा सांसदद्वय शिशिर खनाल र सुमना श्रेष्ठले दिएको अभिव्यक्ति राजनीतिक पूर्वाग्रहका साथ आएको टिप्पणी गरेका हुन्। 

‘साविक मनमैजु गाविस वडा नं ९ हाल तारकेश्वर नगरपालिका वडा नं १० लोकतान्त्रिक चोकमा रहेको कित्ता नं ६१ र ६२ मेरो तथा मेरो परिवारका नाममा र कित्ता नं ६३ सार्वजनिक जग्गा हो, मलाई सरकारी जग्गा एक कित्ता पनि चाहिँदैन, मेरो चरित्रहत्या गर्ने मनसायका साथ संसद्‌मा आवाज उठाउँदा म दुःखी भएको छु’, डा केसीले भने। 

उनले संसद्को अभिव्यक्तिले आफ्नो राजनीतिक चरित्रहत्या भएको भन्दै कानुनी उपचारमा जाने चेतावनी पनि समेत दिएका छन्। 

डा. केसीले आधार र प्रमाणबिना कपोलकल्पित र भ्रमपूर्ण प्रश्न संसद्‌मा उठ्नु गलत भएको बताए। 

पत्रकार सम्मेलनमा तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले स्थानीय जनप्रतिनिधिसँग समन्वय नगरी व्यक्तिगत चरित्रहत्या र मानहानि हुने हिसाबले संसद्‌मा कुरा उठाउनु गलत भएको टिप्पणी गरे। 

नगरप्रमुख महर्जनले सार्वजनिक जग्गा संरक्षणका लागि तारकेश्वर नगरपालिका लागिरहेको भन्दै राजनीतिक पूर्वाग्रह राखेर आम नागरिकलाई भ्रम फैलाउने काम जनप्रतिनिधीबाटै भइरहेको आरोप लगाए। 

‘म संघीय सांसद र प्रदेश सांसदहरूलाई भन्न चाहन्छु- आउनुहोस् सार्वजनिक जग्गा कहाँ-कहाँ मिचिएको छ बसेर नापजाँच गरौँ’, नगरप्रमुख महर्जनले भने।

भूगोल नभएको कुरा संसद्‌मा प्रस्तुत हुनु गलत भएको उनको जिकिर छ। 

पत्रकार सम्मेलनमा नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ का क्षेत्रीय सभापति श्यामकृष्ण खड्गी, नेकपा एमालेका नेता लब बस्नेत, कांग्रेसका नेता इन्द्रमान महर्जन, तारकेश्वर वडा नं १० का वडाअध्यक्ष कुमार राईलगायतले लालपुर्जाले प्रस्ट पारिसकेको विषयमा संसद्‌जस्तो जिम्मेवार थलोमा बोल्नुले संसद्‌को गरिमा घटाएको दाबी गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad