‘राजनीति नगरेको भए यो भन्दा राम्रो जिन्दगी हुन्थ्यो भन्ने लाग्छ। अनावश्यक आलोचना। न खानु न लिनु। यो क्षेत्र अपराध, भ्रष्टाचार गर्नेलाई ठिक छ। मलाई कट्टु चोर्यो समेत भन्न भ्याए, कति रुन मन लाग्छ होला!’
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक एवम् प्रवक्ता ज्ञानेन्द्र शाहीले पूर्वराजा हाल बसिरहेको निर्मल निवासबाटै राजतन्त्र सञ्चालन गर्न सकिने बताएका छन्। गत आइतबार पूर्वराजाको स्वागतमा विशाल प्रदर्शनपछि नेपालखबरको सेलिब्रेटी सो ‘लेट्स टक’मा आइपुगेका उनले राजसंस्था फर्काउन नारायणहिटी नै पुर्याउनुपर्ने बाध्यता नरहेको बताएका हुन्।
‘नारायणहिटी पुर्याउने हल्ला व्यापक थियो। कहाँ पुर्याउनुभयो पूर्वराजालाई’ भन्ने प्रश्नमा उनले राप्रपाको त्यस्तो रणनीति नभएको बताए।
‘स्वागतको कार्यक्रम मात्रै थियो। नारायणहिटी नै लाने भन्ने थिएन,’ राप्रपा प्रवक्ता शाहीले भने, ‘फेरि नारायणहिटी नै बस्नुपर्छ भन्ने पनि छैन। भोलि संविधान संशोधन गरेर जुन निवासमा राजा बस्नुभएको छ, त्यहीँबाट चलाउन नि सकिन्छ।’

राजा फर्काउन सडकमा रमिता देखाएको भन्दै राप्रपामाथि सत्तारुढ दलका नेताहरू खनिएका छन्। उनीहरूले हिम्मत भए निर्वाचनबाट बहुमत ल्याएर संंविधान संशोधन गरेर व्यवस्था उल्टाउन चुनौती समेत दिए।
यसको जवाफमा शाही भन्छन्, ‘त्यसोभए जनमत संग्रह गरौँ न त। यो त सांसदका लागि आएको बहुमत हो, कुनै व्यवस्थाका लागि होइन। चुनावमा मार्क्सवादी भनेर जान्छन् यिनीहरू, मार्क्स ल्याउने हो त यिनीहरूले? हाम्रा नेता मदन भण्डारीको लागि भोट हाल्नु भन्छन्, मदन भण्डारी जीवित हुन्छन् त? संसदमा जान चुनाव गराउँछन् अनि व्यवस्थाको लागि भन्न मिल्छ र?’
शाही छोटो समयमा राजनीतिमा उदाएका व्यक्ति हुन्। जुम्ला घर भएका उनी भ्रष्टाचार विरोधी अभियन्ता हुँदै राप्रपामार्फत मूलधारको राजनीतिमा आएका हुन्। जुम्लाबाट अत्यधिक मतसहित चुनाव जितेका उनको राजनीतिक छलाङको गति बढ्दो छ। अहिले राप्रपाको प्रवक्ता तथा प्रमुख सचेतकको जिम्मेवारी पाएका छन्। शाही स्वयम्ले यो छलाङ जीवनमा अपेक्षा गरेका थिएनन्।
‘मैले राजनीति गर्छु भनेर जीवनमा सोचेको थिइनँ,’ उनी भन्छन्, ‘अभियन्ता बन्छु भन्ने पनि सोचेको थिइनँ। जब एनसेललाई मुद्दा हालियो, त्यसपछि मेरो बाटो मोडियो। देशमा भ्रष्टाचार व्याप्त भएको अनुभूति भयो। अब यो आवाज सडकमा मात्रै उठाएर हुँदैन, सम्बन्धित ठाउँमा पुगेरै उठाउनुपर्छ भनेर राजनीतिमा आएँ। ’
जुम्लाबाट चुनाव लड्दै गर्दा आफूलाई धेरैले ‘पागल’को संज्ञा दिएको उनी बताउँछन्।
‘राप्रपाको बलियो उपस्थिति रहेको काठमाडौँ १ र २, सुर्खेत या बुटवलबाट लड्नुपर्ने ठाउँ हुँदाहुँदै यो किन जुम्ला जाँदैछ भने। यो पागल भयो कि क्या भनेर धेरैले टिप्पणी गरे,’ शाहीले भने, ‘तर, मलाई मेरो आमाले जन्माएको ठाउँ हो। त्यही गएर काम गर्छु भनेर उठेँ। चुनाव जित्छु भन्ने पनि थिएन। दाजुभाइले आशीर्वाद दिएर जिताए काम गर्छु। हारेँ पनि पछुतो छैन भन्ने थियो। तर जितियो। अहिले जुम्लाका लागि जति सकेँ, त्यति गरिरहेको छु।’
राजनीतिक वृत्तमा शाहीलाई ‘अवसरवादी’को ट्याग पनि लाग्ने। उनको पारिवारिक पृष्ठभूमि कांग्रेस र उनी चाहिँ पूर्वमाओवादी भएको आरोपसमेत लाग्ने गर्छ। गणतन्त्रका पक्षमा बोलेका उनका भाषणहरू बेलाबखत सामाजिक सञ्जालमा छाइरहन्छन्।
त्यसोभए शाही राजावादी कि अवसरवादी?

जवाफमा शाही आफू गणतन्त्रवादी नरहेको बताउँछन्।
‘मेरो बुबा सामान्य किसान हुनुहुन्थ्यो, ठूलो बुबाचाहिँ कांग्रेसी,’ उनले भने, ‘जीवनमा म पहिलोपटक राप्रपाको सदस्य भएको हो। भोट पनि जीवनमा पहिलोपटक हालेको हुँ, त्यो पनि आफैलाई हालेँ। चुनाव पनि जितेँ। म कुनै गणतन्त्रवादी होइन। गणतन्त्रमा सुधार गर्नुपर्छ भनेर बोलेको चाहिँ हो। त्यतिबेला पनि मेरो लाइन प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीमा जानुपर्छ र राजा ‘हेड अफ दि स्टेट’का रूपमा हुनुपर्छ भन्ने थियो। अहिले पनि राष्ट्रपतिको ठाउँमा राजा राखौँ भनेको हो। हामीलाई शासन गर्ने राजतन्त्र होइन, राजसंस्था चाहियो भनेका हौँ।’
‘कहिलेकाहीँ थाकेर राजनीति छाडौँ भन्ने सोच आएको छ?’
जवाफमा शाहीले राजनीति छोड्ने सोच धेरैपल्ट आएको बताएका छन्।
‘राजनीति नगरेको भए यो भन्दा राम्रो जिन्दगी हुन्थ्यो भन्ने लाग्छ,’ उनले भने, ‘अनावश्यक आलोचना। न खानु न लिनु। यो क्षेत्र अपराध, भ्रष्टाचार गर्नेलाई ठिक छ। हामीजस्तो इमान्दारलाई गाह्रो। न कसैको खानु छ, न लिनु छ। भएको गाडी पनि बेच्नुपरेको छ, राजनीतिमा आएपछि। परिवारलाई समय दिन सकिँदैन। मान्छेहरूले मलाई कट्टु चोर्यो सम्म भन्न भ्याए। यस्तो आरोप लाग्दा कस्तो मन दुख्छ होला, कति रुन मन लाग्छ होला!’

यतिखेर पूर्वराजाको भव्य स्वागतको दृश्यले राजनीतिक वृत्तमा बेग्लै तरंग ल्याएको छ। आम जनताको फ्रस्टेसनलाई राजनीतिक दलहरूले सम्बोधन गर्न नसक्दा सडकमा यो दृश्य देख्नुपरेको राजनीतिक विश्लेषकहरू टिप्पणी गरिरहेका छन्। यसबाट हौसिएको राप्रपाको भने आगामी ‘रोडम्याप’ के छ त?
जवाफमा उनले भने, ‘रोडम्याप छिट्टै आइहाल्छ नि, आत्तिनुपर्दैन। देशभर व्यापक हुन्छ। यो ट्रेलर हो, फिल्म आउन बाँकी छ।’
त्यो फिल्म कहिले रिलिज हुन्छ, त्यो भने उनलाई पनि स्पष्ट थाहा छैन।

प्रतिक्रिया