राजनीति


नेपालमा राजसंस्था र हिन्दूराष्ट्र पुनर्स्थापना गर्न कसैले रोक्नै सक्दैन : राजेन्द्र लिङ्देन

नेपालमा राजसंस्था र हिन्दूराष्ट्र पुनर्स्थापना गर्न कसैले रोक्नै सक्दैन : राजेन्द्र लिङ्देन

फाइल तस्बिर


नेपालखबर
चैत १, २०८१ शुक्रबार १८:३, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले नेपालमा राजसंस्था र हिन्दूराष्ट्र पुनर्स्थापना गर्न कसैले रोक्न नसक्ने जिकिर गरेका छन्। शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले देश हाल चौबाटोमा पुगिसकेको बताए।

'अहिलेको सबै घटनाक्रमले प्रस्ट पारेको छ, यसलाई यहीँ रोकेर राख्न सकिँदैन। अब अगाडि बढ्नेवालै छ,' उनले भने, 'र, नेपालमा राजसंस्था र हिन्दूराष्ट्रको पुनर्स्थापना हुनेवालै छ। यसलाई कसैले रोक्न सक्दैन।'

उनले भीडले नेताहरूलाई विस्थापित वा राजनीतिक दलका बीचमा सहमति कायम गरेर राजसंस्था र हिन्दूराष्ट्रको पुनर्स्थापना हुने जिकिर गरे। दलहरू सबै अटाउने प्रजातन्त्रसहिको राजसंस्थामा सहमति कायम गरेर अघि बढ्नुपर्छ भन्ने पक्षमा आफूहरू रहेको उनले उल्लेख गरे।

'दुइटा बाटोमध्ये कुनचाहिँ बाटोबाट यसलाई स्वीकार्ने भन्ने कुरा हो। एउटा बाटो, अहिलेको संस्थापनलाई निषेध गरेर, भनेको भीडले अहिलेको नेताहरूलाई विस्थापित गरेर,' उनले भने, 'बंगलादेश, श्रीलंकाजस्तो नेताहरूलाई भागाभागको स्थिति बनाएर।'

उनले थपे, 'दोस्रो, त्यस्तो स्थिति आउन नदिएर सबै राजनीतिक शक्तिहरूको बीचमा नयाँ सहमति गरेर। कुनचाहिँ बाटोबाट आउँछ, तर आउँछ।'

अध्यक्ष लिङदेनले राजसंस्था र प्रजातन्त्र एकार्काको विकल्प हो भन्ने भ्रम फैलाएर समाजलाई विभाजित गर्ने प्रयास गरिएको बताए। राजसंस्था र प्रजातन्त्र एकार्काका विकल्प नभएको उनले धारणा राखे।

उनले पूर्वराजाको स्वागतमा आफूहरूले हालसम्मकै ठूलो ‘जनसागर’ देखेको बताए। केही सञ्चारमाध्यमले पूर्वाग्राही ढंगले समाचार सम्प्रेषण गरेको उनको भनाइ थियो।

'मैले त मेरो जीवनमा मेरो आँखाले देखेको सबभन्दा ठूलो जनसागर हो त्यो। त्यो चिज कति सञ्चारमाध्यमको समाचारको विषय बनेन्। छाप्नुपर्ने र उल्लेख गर्नुपर्ने विषय भएन।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad