नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईं र कांग्रेसबाटै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका बद्रीप्रसाद पाण्डेबीचको विवाद फेरि सुरु भएको छ। यसपटक बजगाईंले मन्त्री पाण्डेको अभिव्यक्तिलाई लिएर पार्टी अनुशासन समितिमा कारबाहीको माग गर्दै निवेदन दिएका छन्।
संविधान तथा पार्टीको सिद्धान्त उल्लंघन, पार्टीको विधान उल्लंघन र लोकतनन्त्रप्रति गैरजिम्मेवार अभिव्यक्ति दिएको आरोप लगाएर बजगाईंले पार्टी सहमहामन्त्रीसमेत रहेका पाण्डेमाथि कारबाहीको माग गरेका हुन्।
फागुन २८ गते बजगाईंले पार्टीको केन्द्रीय अनुशासन समितिमा पत्र पठाएका छन्।
'म नेपाली कांग्रेसको निष्ठावान सदस्यको नाताले आफ्नो पार्टीभित्र वैधानिक प्रश्न उठाउने अधिकार राख्दछु। पार्टीको नीति, सिद्धान्त, संविधान र नेपाली लोकतान्त्रिक मूल्यहरू विपरीत हुने अभिव्यक्तिप्रति ध्यानाकर्षण गराउँदै नेपाली कांग्रेसका पदाधिकारी नेता एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेद्वारा हालसालै सार्वजनिक रुपले व्यक्त गरिएका विचारप्रति गम्भीर आपत्ति जनाउँदै अनुशासनको कारबाहीको माग गर्दछु' बजगाईंले पार्टीलाई पठाएको पत्रमा उल्लेख छ।
उनले भनेका छन्, 'नेपाली कांग्रेस जसले प्रजातन्त्र, लोकतन्त्र र बहुदलीय गणतन्त्रको रक्षा गर्दै आएको छ। त्यसका एक जिम्मेवार मन्त्रीबाट यस्तो अभिव्यक्ति आउनु पार्टी सिद्धान्त विपरीत मात्र नभई नेपालको सविधान र राष्ट्रिय हितविपरीतसमेत रहेको देखिन्छ।'
बजगाईंले पाण्डेको यस्ता अभिव्यक्ति पार्टी विधान विपरीत भएको पनि बताएका छन्।
'...विषयलाई ध्यानमा राख्दै नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिलाई सहमहामन्त्री, मन्त्री बद्री पाण्डेविरुद्ध अनुशासनात्मक छानबिन गरी यथाशीघ्र कारबाही गर्न अनुरोध गर्दछु,' उनले भनेका छन्,'साथै यसबारे विस्तृत छलफल गर्न आवश्यक ठहरिएमा विधानअनुसार निर्णय गरियोस्।'
यसअघि पनि भएको थियो दुई नेताबीच आरोपप्रत्यारोप
यसअघि पनि दुई नेताबीच विवाद भएको थियो। उनीहरूबीच क्यासिनोको लाइसेन्सको विषयलाई लिएर विवाद भएको थियो।
चाडपर्वको समयमा हवाई भाडाको विषयलाई लिएर पनि सांसद बजगाईंले मन्त्री पाण्डेको क्षमतामाथि प्रश्न उठाएका बजगाईंले गत कात्तिक २७ गते मंगलबार मन्त्री पाण्डेमाथि रकम लिएर क्यासिनोको लाइसेन्स बाँडेको दाबी गरेका थिए।
गोरखा-१ क्षेत्रबाट निर्वाचित संघीय सांसद बजगाईं पर्यटन व्यवसायीसमेत हुन्। मन्त्री पाण्डे बाजुरा-१ बाट निर्वाचित सांसद हुन्। उनीहरू दुवै नेपाली कांग्रेसका इतर समूहका नेता डा.शेखर कोइरालानिकटका मानिन्छन्।
पार्टीभित्र एउटै समूहमा रहेपनि यी दुईबीचको विवाद बढ्दै गएको हो। कात्तिक २७ गते बजगाईंले भैरहवास्थित रोयल टाइगर रिक्रियसन प्रालिलाई क्यासिनो सञ्चालनको इजाजतपत्र दिँदा घूस रकम लिएको आरोप लगाएका थिए।
‘एक क्यासिनो संचालकले हामिहरूलाई भैरहवाको क्यासिनो अनुमतिका लागि आफूले करोड करोड रकम दिएको प्रष्ट गरे। दृष्टान्तः मन्त्रीले कांग्रेस नेताको घरमा पैसा पठाउन निर्देश गर्यों उपरोक्त नेताले त्यो पैसा फ़िर्ता पठायो,’ बजगाईंले कात्तिक २७ मा सामाजिक सञ्जाल फेसबुकमा भनेका थिए, 'मन्त्री भ्रष्ट क्यान कर्मचारी हटाउन चाहन्थे सभापति र वहाँको परिवारले दिएनन् भन्दै हिँड्छ, यो झुट हो किनभने सभापति गृह परराष्ट्रमन्त्री आफैँ क्यान छुट्याउने विषयमा आफैँ प्रधानमन्त्रीलाई ब्रिफ गर्दैगरेको १५ औं सांसद साक्षी छौँ।’
पाण्डे असार ३१ गते मन्त्री नियुक्त भएका थिए। असार ३० गते प्रधानमन्त्री नियुक्त भएका ओलीले त्यसको भोलिपल्टै २२ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका थिए, जसमा पाण्डेले पर्यटनमन्त्रीको जिम्मेवारी पाएका थिए। लगत्तै साउनमा रोयल टाइगर रिक्रियसन प्रालिले साउन ११ गते इजाजतपत्र पाएको देखिन्छ।
त्यसपछि पार्टी अनुशासन समितिले दुई नेतासँग छलफल गरेको थियो। छलफलपछि बजगाईंले माफी माग्दै उक्त आरोपहरू फेसबुकबाट हटाएका थिए। त्यसयता उनीहरूबीचको विवाद खासै बाहिर आएको थिएन।
पार्टी अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले यसपटकको पत्र आएकोबारे आफूले औपचारिक जानकारी नपाएको जानकारी दिए। 'म केहीदिन जिल्लातिर भएकोले पत्र आएकोबारे औपचारिक जानकारी पाएको छैन,' ढुंगानाले नेपालखबरसँग भने, 'पहिले त म आफैँले दुईजनाको विवाद मिलाएको हुँ। यसपटक पनि पत्र आएको भए म अध्ययन गरेर छलफलबाटै समाधानको प्रयास गर्छु।'
यस्तो छ पत्र

Shares

प्रतिक्रिया