राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा आज केन्द्रीय कार्यालय धुम्बाराहीमा पार्टीको पदाधिकारी बैठक सम्पन्न भएको छ। बैठकमा पूर्वराजा ज्ञानेन्द्र शाह सम्मान तथा स्वागत कार्यक्रमको समीक्षा र आगामी रणनीतिहरूबारे छलफल गरिएको प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए।
राप्रपाले पूर्वराजाको स्वागत कार्यक्रममा उल्लेखनीय संख्यामा आम नागरिकको उपस्थिति रहेको भन्दै सबैमा धन्यवाद ज्ञापन गरेको छ।
'आम नागरिकको विशाल र उत्साहजनक उपस्थितिले नेपालमा राजसंस्थाको आवश्यकता र अपरिहार्यता प्रमाणित भएको छ,' राप्रपाले भनेको छ, 'आम नागरिकको चाहना, देशको आवश्यकता, सडकमा प्रतिबिम्वित जनभावना अनुरुप मुलुकलाई निकास दिन र कसैलाई निषेध नगर्ने व्यवस्थाका लागि ‘नवीन समझदारी’ गर्न राप्रपा सबै राजनीतिक दललाई आह्वान गर्दछ। यसका लागि आवश्यक संवादको थालनी गर्न समेत राप्रपा सबै राजनीतिक दललाई आग्रह गर्दछ।'
यस्तै, पार्टीले सञ्चालन गर्ने आन्दोलनलगायतका विषयमा विस्तृत छलफल गर्न आउँदो चैत ३ गते केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने निर्णय गरेको छ।
Shares

प्रतिक्रिया