नेकपा एसका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजा फर्काउने भनेर गरिएका गतिविधि अस्वीकार्य रहेको बताएका छन्। सोमबार सिंहदरबारमा माओवादी अध्यक्ष पुष्पकमल दाहालसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले राजतन्त्र फर्काउने भनेर गरिएका गतिविधि अस्वीकार रेहको र इतिहासको रथ अब पछाडि फर्किन नसक्ने बताएका हुन्।
आइतबार पोखराको एक हप्ताको बसाइपछि काठमाडौं फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न समर्थकहरूको उल्लेख्य उपस्थिति थियो।
पूर्वराजा शाहको अभिनन्दनमा जम्मा भएको भीडपछि सोही विषयमा छलफल गर्न माओवादी, एसलगायतका राजनीतिक दलका पदाधिकारी र सचिवालय बैठकसमेत बसेका छन्। साथै राजतन्त्रवादी समूहहरूलाई प्रतिगामी शक्तिको संज्ञा दिँदै यस्तो कार्य स्वीकार्य नहुने र गणतन्त्रवादीहरू एकजुट हुनुपर्ने आह्वानसमेत गरिसकेका छन्।
सोही विषयलाई लिएर सिंहदरबारमा पनि दुई नेताहरूबीच छलफल भएको हो। छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले जनतालाई प्रगति र परिवर्तन चाहिएको राजाबाट सम्भव नरहेको बताए।
‘यस्तो गतिविधि अस्वीकार्य छ। इतिहासको रथ पछाडि फर्किन सक्दैन। प्रगति चाहियो, परिवर्तन चाहियो। जनताको हित र कल्याणको शासन चाहियो। त्यो राजाबाट सम्भव छैन। इतिहासले बताइसकेको छ। २४० वर्षको इतिहासले बताइसकेको छ। फेरि त्यो निरंकुश शासन जनता चाहँदैनन्। हामीले गल्ती गरेका छौं भने हामी सँच्चिनुपर्छ,’ उनले भने। अध्यक्ष नेपालले जनताको हित र कल्याणको शासन आवश्यक भएको बताए।
Shares

प्रतिक्रिया