मंगलबारको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल 'प्रचण्ड'ले सम्बोधन गर्ने कार्यसूची छ। प्रचण्डले संसद्को जारी अधिवेशनमा दोस्रोपटक सम्बोधन गर्न लागेका हुन्। यसअघि माघ २४ गते सम्बोधन गरेका थिए।
उक्त दिन सम्बोधन गर्दा उनले प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीको खोजी गरेका थिए।
'प्रमुख प्रतिपक्षी दलको नेताले सम्बोधन गर्दा प्रधानमन्त्री उपस्थिति हुने प्रावधान छ। मैले प्रधानमन्त्रीजी आउँदै हुनुहुन्छ होला भन्ने सोचेको थिएँ। सत्तापक्षको सबैभन्दा ठूलो दलको नेता पनि आउनुहुन्छ होला भन्ने सोचेको थिएँ' दाहालले माघ २४ को संसद् बैठकमा भनेका थिए।
भोलिको बैठकमा पनि प्रधानमन्त्री अनुपस्थित हुने पक्का छ।
'प्रमुख प्रतिपक्षी दलका नेताले सम्बोधन गर्न चाहेको समयमा समय उपलब्ध गराउने परिपाटी नै छ,' प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले नेपालखबरसँग भने, 'प्रचण्डले प्रमुखसचेतकमार्फत सम्बोधन गर्न चाहेको कुरा सभामुखसमक्ष पुर्याउनु भएको थियो।'
उनले प्रमुख प्रतिपक्षी दलका नेताले सम्बोधन गर्दा प्रधानमन्त्री उपस्थित हुने चलन गरेको पनि सुनाए।
'प्रमुख प्रतिपक्षी दलको नेताले संसद्मा सम्बोधन गर्दा प्रधानमन्त्री सहभागी हुने व्यवस्था छ,' उनले भने, 'कोसी जाने उहाँको कार्यक्रम पहिले नै तय भएर हो कि। यसबारे अरु केही थाहा भएन।'
कोसी प्रदेशसभामा सम्बोधन गर्ने कार्यसूची तय भइसकेको प्रदेशसभाका प्रवक्ता गौतमराज अमात्यले नेपालखबरलाई जानकारी दिए।
'भोलिको लागि प्रधानमन्त्रीले सम्बोधन गर्नेमात्रै कार्यसूची छ २ बजेको लागि' उनले भने।
कोसीका प्रतिपक्षी बहिष्कारको तयारीमा
कोसी प्रदेशसभाका प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीले सम्बोधन गर्ने बैठकलाई बहिष्कार गर्ने तयारीमा छन्। माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोका अनुसार प्रधानमन्त्रीले किन र केका लागि सम्बोधन गर्ने भन्नेबारे औपचारिक जानकारी नगराएकोले संसद् बैठक बहिष्कार गर्ने तयारी भएको बताए।
'प्रधानमन्त्री किन आउने भन्ने नै थाहा छैन हामीलाई। केको निम्ति सम्बोधन गर्ने भन्ने पनि थाहा छैन। के विषयमा सम्बोधन गर्ने पनि थाहा छैन। सरकारले, संसद्ले हामीलाई केही जानकारी गराएको छैन,' उनले नेपालखबरसँग भने, 'विपक्षी दलको नेताले बोल्दा पनि उहाँ (ओली) संसद्मा हुनुहुन्न। विपक्षी दलका नेताले प्रश्न सोध्दा पनि उहाँले जवाफ दिनुहुन्न। प्रदेशसभामा मुख्यमन्त्रीले कोको मान्छे आउने भनेर हल्ला गर्नुहुन्छ त्यत्तिकै भरमा लुरुलुरु त जाँदैनन् नि विपक्षी दलहरू। सरकारको कारिन्दा त होइन नि विपक्षी दलहरू।'
उनले प्रधानमन्त्रीले बोल्ने विषय स्पष्ट हुनुपर्ने पनि बताए। 'उहाँ किन केको निम्ति आउने भन्नेबारे क्लियर हुनुपर्यो। अन्टसन्ट बोल्नुभयो भने त विपक्षी दलले हेरेर बस्दैन न' उनले भने।
मुख्यमन्त्रीले छलफल गर्ने बताए पनि आज छलफलको सम्भावना नभएको उनले सुनाए। भोलि भोलि दिउँसो २ बजे प्रधानमन्त्रीले कोसी प्रदेशसभालाई सम्बोधन गर्ने कार्यसूची छ। कोशी प्रदेशसभामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राप्रपा गरी तीन दल प्रतिपक्षमा छन्।
यता १ बजे सुरु हुने प्रतिनिधिसभाको बैठकलाई प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले पनि सम्बोधन गर्ने कार्यसूची तय भएको छ।
के भन्छन् कोसीका मन्त्री?
कोसीका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले प्रधानमन्त्रीले सम्बोधन गर्ने सभालाई बहिष्कार गरे प्रतिपक्षी नै नराम्रो हुने बताउँछन्।
नेपालखबरसँग कुरा गर्दै उनले भने, 'राजावादीहरू उफ्रिरहेको बेलामा गणतन्त्र पक्षधरले बहिष्कार गर्दा उहाँहरूकै कमजोरी देखिन्छ।'
Shares

प्रतिक्रिया