सरकारले काठमाडौँ महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई तान्न नमिल्ने अडान राखेको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तत्काल अन्य कुनै कर्मचारी नपठाउने बताएको हो।
काठमाडौँ महानगरले गुरागाईँलाई काममा लगाउन नसकिने भन्दै आर्थिक अधिकार दिन माग गर्दै फागुन २२ गते मन्त्रालयमा पत्र पठाएको थियो।
तर, मन्त्री राजकुमार गुप्ताले भदौ २७ गते पठाएको सहसचिव तान्न नमिल्ने बताए।
‘त्यहाँ प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ हुँदै हुनुहुन्छ। काम लगाउनुपर्यो, एउटा हुँदा हुँदै अर्काे निमित्त दिन कसरी मिल्छ?,’ गुप्ताले नेपालखबरसँग भने, ‘केही गल्ती नदेखिएको कारणले हामीले उहाँलाई तान्न मिल्दैन। अरु पठाउने कुरै भएन अहिले।’
काठमाडौँ भ्यू टावरको नक्सा पासका विषयमा पुस ५ गते गुरागाईँलाई महानगरले कारबाही सिफारिस गरेको थियो।
त्यसलगत्तै विदामा बसेका उनले पटक पटक महानगर गएर हाजिर गर्न चाहेपनि कार्यकक्षमै ताललगाइएकोले रोकिएको मन्त्रालयलाई जानकारी गराएका थिए।
फागुन २१ गते गुरागाईँले महानगरमा हाजिर हुने वातावरण बनाउन भन्दै निवेदन दिएका थिए। मन्त्रालयले त्यसयता महानगरमा गुरागाईँलाई हाजिर गराउन ताकिता गर्ने देखिएको छ।
Shares

प्रतिक्रिया