राजनीति


बालेनले काम गर्न नदिएको भन्दै गुरागाईंले दिए मन्त्रालयमा निवेदन

बालेनले काम गर्न नदिएको भन्दै गुरागाईंले दिए मन्त्रालयमा निवेदन

नेपालखबर
फागुन २१, २०८१ बुधबार २३:२१, काठमाडौँ

काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले आफूलाई काम गर्न नदिएको भन्दै सिंहदरबारमा गुनासो गर्न पुगेका छन्।

गुरागाईंले काठमाडौँ महानगरपालिकाले आफूलाई काम गर्न नदिएको भन्दै बुधबार सिंहदरबारस्थित संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा निवेदन दिएका छन्।

उनले आफूमाथि बिनाआधार छानबिनका नाममा मानसिक तनाव दिएको कुरा पनि मन्त्रालयका अधिकारीहरूसँग दुःखेसो पोखेका छन्।

गत भदौ २७ गते काठमाडौँ महानगरपालिकाको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा सरुवा भएका सहसचिव गुरागाईं असोज ७ गते त्यहाँ हाजिर भएका थिए। 

पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यु टावरको प्रक्रिया पूरा नगरी नक्सा स्वीकृत गरेको आरोप लगाउँदै पुस ५ गते महानगरपालिकाले कारबाही गर्न सिफारिस गर्‍यो। सो आरोपमाथि छानबिन गर्न महानगरले कानुनी सल्लाहकार एवं पूर्वन्यायाधीश शेखरप्रसाद पौडेलको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो।

तर, पौडेलले पारिवारिक कारण देखाउँदै छानबिन समितिबाट बीचैमा राजीनामा दिए।

त्यसपछि समितिको संयोजकको जिम्मेवारी पूर्वसचिव शंकर पाण्डेलाई दिइयो। महानगरको सहरी योजना आयोगका उपाध्यक्ष डा सुमननरसिंह राजभण्डारी र महानगरकै कानुनी सल्लाहकार महेश नेपाल सदस्य थिए। समितिलाई प्रतिवेदन दिन एक महिनाको कार्यावधि तोकिएको थियो। उक्त म्यादभित्र प्रतिवेदन दिन नसकेपछि महानगर प्रमुख बालेन्द्र शाह (बालेन) ले उक्त समिति विघटन गरी महानगरकै अधिकारीहरूलाई विभागीय राय पेस गर्न आदेश गरेका थिए।

महानगरका सहरी व्यवस्थापन विभाग प्रमुख हरिश्चन्द्र लामिछाने, कानुन तथा मानव अधिकार विभाग प्रमुख वसन्त आचार्य र सार्वजनिक निर्माण विभाग प्रमुख सुरज शाक्यले दिएको ६ पाने राय बालेनले सिंहदरबार पठाइदिएका थिए।

बालेनले अर्को प्रशासकीय अधिकृत पठाइदिन पटकपटक पत्राचार गरे पनि मन्त्रालयले भने एउटा कर्मचारी हुँदाहुँदै त्यही ठाउँमा अर्को पठाउन नमिल्ने जवाफ दिइरहेको छ।

पुस ५ यता काठमाडौँ महानगर प्रशासकीय नेतृत्वविहीन छ। गुरागाईँ त्यसयता बिदा बसिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad