नेपाली कांग्रेसले 'मिसन रोजगारी' अभियान सुरु गरेको छ। महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको उपस्थितिमा अभियानको सुरुवात गरिएको हो।
अभियान सुरु गर्दै महामन्त्री शर्माले जनसरोकारका विषयलाई राजनीतिक दलहरूले साझा बनाउनुपर्ने बताए।
आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा‘राजनीतिक विमर्शको केन्द्रमा रोजगार–सरकारको प्राथमिकतामा रोजगार’ भन्ने लक्ष्यका साथ सुरु गरेको ‘मिसन रोजगारी’ अभियानको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन्।
राजनीतिक दलहरूले राजनीतिक विषयबाहेक नागरिकलाई छुने विषयलाई साझा मुद्दा बनाउनुपर्ने उनको भनाइ छ।
‘राजनीतिक दलहरूले गर्ने बहस, दलहरूको कर्म, दलहरूको एजेण्डा, दलहरूको प्रतिष्पर्धाको विषय अब राजनीतिक विषय जति छन् त्यसको अलवा, जनसरोकारको विषय, नागरिकलाई छुने विषयहरूमा जानुपर्छ। जलवायु परिवर्तनको विषय होस् वा जलविद्युत उत्पादन र व्यापारको विषय साझा विषय हो,' उनले भने, 'सुशासन दिनुपर्ने दायित्वको विषय साझा विषय हो। पूर्वाधार निर्माणमा बढाउनुपर्ने गति, साझा राष्ट्रिय प्राथमिकताको विषय हो। रोजगारी सिर्जना गर्ने, रोजगारी अभिवृद्धि गर्ने विषय ज्वलन्त साझा विषय हो र नेपाली कांग्रेस पार्टी यसको अग्रसरता लिनुपर्छ।’
महामन्त्री शर्माले पुरानो बाटो हिँडेर नयाँ गन्तव्यमा पुग्न नसकिने उल्लेख गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको बाटोबाट नै अहिलेका समस्या समाधान गर्न सकिने बताए।
Shares

प्रतिक्रिया