राप्रपाको केन्द्रीय पदाधिकारी बैठक आज बसेको छ। अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समिक्षा, देशभर भइरहेका पार्टीका कार्यक्रमहरु एवं संगठन निर्माणको अवस्थाबारे समीक्षा भएको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
'राजा ज्ञानेन्द्रबाट गत फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा देशवासीका नाममा सार्वजनिक भएको सन्देशको राष्ट्रिय प्रजातन्त्र पार्टी हार्दिक स्वागत गर्दछ' बैठकपछि श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
संवैधानिक राजसंस्था पुन:स्थापनाको प्रमुख लक्ष्य बोकेको राप्रपाले राजाको सम्बोधन नागरिकलाई जागरुक र एकताबद्ध बनाउन देशभर कार्यक्रम गरिरहेको पनि जनाएको छ।
राप्रपाले फागुन २५ गतेको काठमाडौँमा गर्ने भनेको आमसभा भने स्थगित भएको जनाएको छ। ज्ञानेन्द्र शाह उक्त अभिव्यक्तिपछि काठमाडौँ फर्किन लागेको र उनलाई स्वागत गर्नकै लागि आमसभा स्थगित गरेको राप्रपाले जनाएको छ।
'यही फागुन २५ गते काठमाडौँमा पार्टीले आयोजना गरेको पूर्वनिर्धारित आमसभा स्थगित गर्ने र राजाको स्वागतार्थ त्रिभुवन विमानस्थलमा भेला हुन पार्टीपंक्ति र आम जनसमुदायलाई आह्वान गरिएको छ' श्रेष्ठले जारी विज्ञप्तिमा उल्लेख छ।
Shares

प्रतिक्रिया