राजनीति


निलम्वित एमाले स्थायी समिति सदस्य विन्दा पाण्डेको ‘भुइँमान्छे’ सार्वजनिक

निलम्वित एमाले स्थायी समिति सदस्य विन्दा पाण्डेको ‘भुइँमान्छे’ सार्वजनिक

नेपालखबर
फागुन २१, २०८१ बुधबार १४:४७, काठमाडौँ

कोअर्डिनेसन केन्द्रदेखि माले हुँदै नेकपा एमालेसम्मको राजनीतिक यात्रामा आमकार्यकर्ताको योगदान समेटिएको पुस्तक ‘भुइँमान्छे’ सार्वजनिक भएको छ।

नेकपा एमालेकी निलम्वित स्थायी समिति सदस्य विन्दा पाण्डेको पुस्तक ‘भुइँमान्छे’ मंगलबार झापा र इलामको सीमाना बधस्थल सुखानीमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो। 

सुखानी हत्याकाण्डलाई हरेक वर्ष कम्युनिष्टहरूले कम्युनिष्ट आन्दोलनको इतिहासका रूपमा सम्झने गरेका छन्। ४७ वर्षअघि कम्युनिष्ट आन्दोलनका क्रममा पाँचजनाले सहादत प्राप्त गरेको घटना ‘सुखानी काण्ड’ले देशभर परिचित छ। 

कम्युनिष्ट आन्दोलनलाई उचाइमा पुर्‍याउने झापा विद्रोह लगायत मुलुकका विभिन्न स्थानमा भएका तात्कालिन घटनामा आम कार्यकर्ताको भुमिका समेटिएको पुस्तक भएकाले सुखानीमा विमोचन गरिएको लेखिका पाण्डेले बताइन्।

सुखानीमा बुधबार बिहान पार्टीको जिल्लास्तरीय कार्यक्रम पनि भएको थियो। तर पार्टीको कार्यक्रममा पाण्डेको पुस्तक विमोचन गरिएन। पार्टीको कार्यक्रम सकिएपछि सोही स्थानमा कार्यक्रम गरी पुस्तक सार्वजनिक गरिएको हो। कोअर्डिनेसन केन्द्र स्थापनाका आश्रयदाता भक्तबहादुर आले (मनोहर) र माले निर्माणमा आश्रय दिने इटहरा मोरङका टेकबहादुर राईले संयुक्त रुपममा पुस्तक विमोचन गरेका हुन्।

झन्डै ४ दशक बाम राजनीतिमा विताएकी लेखिकाले आम सर्वसाधरणले तात्कालीन समयमा निर्वाह गरेको भूमिका र इमानका कारण नै मुलुकले लोकतान्त्रिक शासन व्यवस्था प्राप्त गर्न सकेकाले उनीहरुको भूमिकालाई सम्मान गर्नुपर्ने बताईन्। पुस्तक ‘भुइँमान्छे’ नेकपा एमाले निर्माणमा आम कार्यकर्ताको भूमिकामा केन्द्रित छ।

पुस्तकको भूमिकामा लेखिकाले लोकतन्त्र प्राप्तिपछि पार्टीभित्र नेतृत्वबाट भएका कतिपय निर्णयहरुलाई अप्रजातान्त्रिक कार्यशैलीका रुपमा चित्रण छ। सुशासनका लागि आवाज उठाउँदा पार्टी नेतृत्वबाट विद्रोही शैलीको भाष्य श्रृजना गरिएको भएपनि आफू सधैँ पार्टी बनाउन भूमिका निर्वाह गर्ने भुइँमान्छेका भावना र अपेक्षाप्रति प्रतिवद्ध रहेको पाण्डेले बताइन्।

पार्टी कार्यालय बनाउन सहयोग लिने नेतृत्वको निर्णय सुशासन विरोधी भएको भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेपछि ६ महिनाका लागि निलम्वनमा परेकी पाण्डेले पुस्तक ‘भुइमान्छे’ मा पनि नेतृत्वले आमकार्यकर्ताको अपेक्षा अनुसार काम गर्न नसकेका कारण राजनीतिप्रति वितृष्णा फैलिएको उल्लेख गरेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad