जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले केपी ओली नेतृत्वको गठबन्धन सरकार प्रभावहीन बन्दै गएको टिप्पणी गरेका छन्। आइतबारदेखि सुरु केन्द्रीय समिति बैठकमा पेस भएको यादवको राजनीतिक प्रतिवेदनमा सरकार असफल भएको उल्लेख छ।
'सरकारप्रति जनतामा नैरास्यता बढ्दो छ । भ्रष्टाचार नियन्त्रण गर्न नसक्नु, सुशासन कायम गर्न नसक्नु र आर्थिक विकास गरी समृद्धि प्राप्त गर्ने सरकारको कुनै ठोस नीति कार्यक्रम तथा योजना देखिन्न,' उनले भने, 'संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने, देशको अर्थतन्त्रलाई कमजोर बनाउने, नीतिगत तथा संस्थागत सुधार ल्याउन नसक्ने, उत्पादनमूखी अर्थतन्त्र निर्माण गर्न नसकेको, आपूर्ती व्यवस्थामा सुधार ल्याउन तथा उत्पादन बृद्धि र रोजगारी सृजना गर्न नसकेको, गुणस्तरीय सेवा प्रवाह गर्न नसकेको, भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभुति दिलाउन नसकेको, समाजमा विद्यमान विभिन्न खाले विभेद अन्त्य गर्न, पर्यावरणीय सन्तुलन कायम गर्न नसकेको, राष्ट्रिय हितको रक्षा, राष्ट्रियहीत अनुकूल परराष्ट्र नीति कायम गर्न नसकेको कारणले यो सरकार असफल र असक्षम सावित भइसकेको छ ।'
सरकार गठन पश्चात मुलुकमा सुशासन, समृद्धि र विकास गर्नुभन्दा बढी कोरा नारा मात्र लगाइएको यादवको आरोप छ।
भ्रष्टाचारका ठूला काण्डमा सरकारमा सहभागी दलका नेता र तीनका परिवारका सदस्य संलग्न भएको प्रमाण भेटिँदा पनि सरकार मौन भएको उनको अर्को आरोप छ।
'सरकारमा सहभागी दलका नेता र तिनका परिवारको सदस्यहरू नै ठूला-ठूला भ्रष्टाचार काण्डमा संलग्न रहेको प्रमाण भेटिँदा पनि त्यसविरुद्ध सरकार मौन छ,' उनले भनेका छन्, 'सरकार पूर्वाग्रही हिसाबले एउटै अपराधअन्तर्गत कसैलाई काखा र कसैलाई पाखा गरी प्रतिशोधपूर्ण कार्य गरिरहेको छ। केपी शर्मा ओली नेतृत्वको सरकारको आयु लम्ब्याउन जालझेल गर्ने, अरु दललाई कमजोर बनाउने नीति लिएको पाइन्छ।'
भविष्यमा ठूला दलमात्र हुने र साना दललाई समाप्त पार्ने नीति लोकतान्त्रिक मूल्य र मान्यता विपरीत भएको उनको प्रतिवेदनमा उल्लेख छ।
Shares

प्रतिक्रिया