जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेस– नेकपा एमाले गठबन्धनको सरकार असक्षम सावित भइसकेको टिप्पणी गरेका छन्।
आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा राजनीतिक, संगठनात्मक प्रतिवेदन तथा प्रस्तावहरू प्रस्तुत गर्दै अध्यक्ष यादवले यस्तो टिप्पणी गरेका हुन्। उनले सरकार गठन पश्चात मुलुकमा सुशासन, समृद्धि र विकास गर्नुभन्दा बढी कोरा नारामा मात्र सिमित राखेको आरोप समेत लगाए।
सरकारप्रति जनतामा नैरास्यता बढ्दोक्रममा रहेको उनको भनाइ छ।
अध्यक्ष यादवले राष्ट्रिय हितको रक्षा, राष्ट्रियहीत अनुकूल परराष्ट्र नीति कायम गर्न नसकेको कारणले सरकार असक्षम र असफल सावित भइसकेको दाबी गरे।
सरकारमा सहभागी दलका नेता र तिनका परिवारको सदस्यहरू नै ठूला–ठूला भ्रष्टाचार काण्डमा संलग्न रहेको प्रमाण भेटिँदा पनि त्यसविरुद्ध सरकार मौन रहेको आरोप लगाए।
उनले केपी शर्मा ओली नेतृत्वको सरकारको आयु लम्ब्याउन जालझेल गर्ने, अरू दललाई कमजोर बनाउने नीति लिएको उल्लेख गरे।
उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने, देशको अर्थतन्त्रलाई कमजोर बनाउने, नीतिगत तथा संस्थागत सुधार ल्याउन नसक्ने, उत्पादनमूखी अर्थतन्त्र निर्माण गर्न नसकेको, आपूर्ति व्यवस्थामा सुधार ल्याउन तथा उत्पादन बृद्धि र रोजगारी सृजना गर्न नसकेको, गुणस्तरीय सेवा प्रवाह गर्न नसकेको, भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभुति दिलाउन नसकेको, समाजमा विद्यमान विभिन्न खाले विभेद अन्त्य गर्न, पर्यावरणीय सन्तुलन कायम गर्न नसकेको, राष्ट्रिय हितको रक्षा, राष्ट्रियहीत अनुकूल परराष्ट्र नीति कायम गर्न नसकेको कारणले यो सरकार असफल र असक्षम सावित भइसकेको छ।’
उनले सरकार संविधानले व्यवस्था गरेको बहुदलीय व्यवस्थाप्रतिकुल कार्य गर्न उद्दत रहेको आरोप समेत लगाए।
Shares

प्रतिक्रिया