राजनीति


एमालेले झण्डै १५ करोड आम्दानी गर्दा कांग्रेस २ करोड ३२ लाख घाटामा

११५ मध्ये ८८ दलले निर्वाचन आयोगमा बुझाए आम्दानी र खर्चको विवरण
एमालेले झण्डै १५ करोड आम्दानी गर्दा कांग्रेस २ करोड ३२ लाख घाटामा

नेपालखबर
फागुन १५, २०८१ बिहिबार ८:६, काठमाडौँ

राजनीतिक दलहरुले निर्वाचन आयोगमा आफ्नो आम्दानी र खर्चको विवरण बुझाएका छन्। 

निर्वाचन आयोगमा दर्ता भएका एक सय १५ वटा दलमध्ये सानाठूला ८८ राजनीतिक दलले मात्रै आर्थिक वर्ष २०८०/८१ को आम्दानी र खर्चको विवरण आयोगमा बुझाएका हुन्। 

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा आव समाप्त भएको छ महिनाभित्र राजनीतिक दलहरुले आफ्नो आयव्ययको लेखा परीक्षण गर्नुपर्ने व्यवस्था छ। लेखा परीक्षण गरेको एक महिनाभित्र त्यसको प्रतिवेदन आयोगमा पेस गर्नुपर्छ।

आयोगमा बुझाइएको विवरण अनुसार हाल सरकारको नेतृत्व गरिएको दल एमाले सबैभन्दा धनी देखिएको छ।

आयोगमा बुझाइएको लेखा परीक्षण प्रतिवेदन अनुसार एमालेले गत आवमा १४  करोड ७९ लाख पाँच हजार ८०९ रुपैयाँ आम्दानी गरेको छ। एमाले आव २०७९/८० मा करिब दुई करोड ६२ लाख ८४ हजार रुपैयाँ घाटामा थियो। 

यस वर्ष करिब सात करोड २८ लाख रुपैयाँ नाफा गरेको एमालेले जनाएको छ। एमालेको आम्दानीको मुख्य स्रोत कार्यकर्ताबाट संकलन भएको सदस्यता शुल्क हो। यो शीर्षकमा एमालेले ११ करोड ५४ लाख ३० हजार ४३७ रुपैयाँ आम्दानी गरेको छ। 

एमालेले सात करोड २८ लाख रुपैयाँ नाफा गर्दा सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेस भने  घाटामा देखिएको छ। 

आफू दुई करोड ३२ लाख ४७ हजार ५९९ रुपैयाँले घाटामा रहेको सो दलले निर्वाचन आयोगमा बुझाएको विवरणमा उल्लेख छ। 

कांग्रेसले आव २०८०/८१ मा दुई करोड ५९ लाख आठ हजार ७७५ रुपैयाँ आम्दानी गरेको छ। उसको खर्च भने चार करोड ९१ लाख ५६ हजार ३७५ रुपैयाँ छ। 

कांग्रेसले आफ्नो आम्दानीको प्रमुख स्रोत चन्दा र सहयोग रकम रहेको जनाएको छ । काग्रेसले चन्दा सहयोगबाट एक करोड ७३ लाख ९४ हजार ४३९ रुपैयाँ आम्दानी गरेको छ। सदस्यता शुल्क, लेबी र नवीकरण शुल्कबापत कांग्रेसले करिब ७१ लाख रुपैयाँ आम्दानी गरेको छ।

नेकपा (माओवादी केन्द्र) ले आव २०८०/८१ मा एक करोड ८६ लाख ५३ हजार १४६ रुपियाँ आम्दानी गरेको जनाएको छ। अघिल्लो आर्थिक वर्ष माओवादी केन्द्रले तीन करोड ४८ लाख ४१ हजार ९३ रुपैयाँ आम्दानी गरेको थियो। 

राष्ट्रिय स्वतन्त्र पार्टीले आव २०८०/८१ मा तीन करोड ७९ लाख ५९ हजार ४८७ रुपियाँ आम्दानी गर्दा ६ करोड ५० लाख १७ हजार ७८ रुपैयाँ खर्च गरेको छ। आफू एक करोड ६९ लाख ३० हजार ३७६ रुपियाँले घाटामा रास्वपाले जनाएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आव २०७९/८० मा पाँच करोड ४८ लाख रुपैयाँ आम्दानी गरेको थियो। 

त्यसैगरि नेकपा (एकीकृत समाजवादी) ले गत आवमा चार करोड २४ लाख ५३ हजार ६९१ रुपियाँ आम्दानी गरेको छ। आयोगमा बुझाइएको प्रतिवेदन अनुसार उसको आम्दानी भन्दा खर्च बढी छ। 

सोही अवधिमा चार करोड ५७ लाख ४० हजार रुपैयाँ खर्च गरेको नेकपा एकीकृत समाजवादीले जनाएको छ। 

त्यसैगरि जनमत पार्टीले आव २०८०/८१ मा एक करोड १८ लाख रुपैयाँ आम्दानी गरेको छ भने राप्रपाले यस वर्ष एक करोड ३८ लाख ७४ हजार रुपैयाँ आम्दानी गरेको छ। 

निर्वाचन आयोगमा आव २०८०/८१ मा ११५ दल दर्ता भएका थिए। दर्ता भएका दलमध्ये २७ दलले आयव्यको विवरण नबुझाएका आयोगले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad