नेपाली सेनाका उपरथी प्रेमध्वज अधिकारीको पदावधि थप भएको छ। सोमबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले नेपाली सेनाको सिफारिसमा रक्षा मन्त्रालयले गरेको प्रस्ताव अनुसार ६ महिना सेवा अवधि थप गर्ने निर्णय गरेको हो।
प्रधान सेनापतिले चाहेको अवस्थामा पदावधि थप गर्न सिफारिस गर्न सक्ने सैनिक ऐनमा व्यवस्था छ। सैनिक ऐन २०६३ को दफा १७ ९३० मा लामो अवधिसम्म सेवा गरी शारीरिक रूपमा सक्षम रहेका अधिकृतको सेवा नेपाली सेनाका लागि आवश्यक छ भनी मनासिव आधार र कारण खोली नेपाल सरकार समक्ष प्रधानसेनापतिले सिफारिस गरेमा नेपाल सरकारले पदावधि थप गर्न सक्ने उल्लेख छ।
सोही व्यवस्था अनुसार प्रधानसेनापति अशोकराज सिग्देलको सिफारिसमा उमेर हदसँग मिल्नेसम्म मात्रै पदावधि थप गरिएको हो। उपरथीको ५७ वर्षे उमेर हद छ। यो अवधिमा अधिकारी रथीमा बढुवा नभएमा अवकास हुनेछन्। रथीको उमेर हद ५८ वर्षे छ।
२७ बेसिकका अधिकारी २०७८ फागुन २६ गते उपरथीमा बढुवा भएका थिए। उपरथीको तीन वर्षे पदावधि सकिनु दुईसाता पहिले नै उनको पदावधि थप गरिएको हो।
यसअघि मन्त्रिपरिषद् बैठकले अधिकारीलाई रथीमा स्थानीय बढुवा भने गरिसकेको छ। संयुक्त राष्ट्र संघको सैनिक सल्लाहकारमा आवेदन दिन रथी आवश्यक भएपछि अधिकारीलाई स्थानीय बढुवा गरिएको थियो। जुन उक्त प्रयोजनकोा लागि मात्रै हुनेछ।
नेपालमा कार्यरत रहँदा भने उनी उपरथी नै हुनेछन्। अधिकारी सैनिक सल्लाहकारमा छनोट हुने नहुने भन्ने राष्ट्र संघबाट निर्णय भइसकेको छैन।
अधिकारी सैनिक सल्लाहकार बन्न सफल भएमा नेपाली सेनाले हालसम्मकै उच्च तहमा प्रतिनिधित्व गर्ने छ। यसअघि निर्मलकुमार थापा संयुुक्त राष्ट्र संघको शान्ति मिसनमा सिरियामा फोर्स कमान्डर थिए। नेपाली सेनाले राष्ट्र संघमा पाएको यो नै उच्च तह हो। तर हाल उनी मिसन सम्पन्न गरेर स्वदेश फर्किसकेका छन्।
शान्ति मिसनमा सबैभन्दा बढी सैनिक पठाउने नेपाली सेनाले त्यो भन्दा उच्च तहमा दाबी पेस गरेको हो।
अधिकारी २०६९ चैतमा महासेनानी र २०७५ भदौमा सहायक रथीमा बढुवा भएका थिए।
उपरथीमा बढुवा भएपछि उनले राष्ट्रिय निकुञ्ज तथा पर्यावरण संरक्षण महानिर्देशनालयमा जिम्मेवारी पाएका थिए। त्यसपछि पृतनापति भएका अधिकारी हाल सैनिक मुख्यालयको युद्ध कार्य विभागको प्रमुख छन्।
Shares

प्रतिक्रिया