राजनीति


न्यायाधीश फुयाल भन्छन् : चीन र भारतबाट सिकेर अदालती प्रक्रिया छिटै अनलाइन प्रणालीमा लैजान्छौँ

न्यायाधीश फुयाल भन्छन् : चीन र भारतबाट सिकेर अदालती प्रक्रिया छिटै अनलाइन प्रणालीमा लैजान्छौँ

नेपालखबर
फागुन १०, २०८१ शनिबार १६:४१, काठमाडौँ

सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले नेपालका अदालती प्रक्रियाहरू पनि छिटै अनलाइन प्रणालीबाट टुंगो लगाउने बताएका छन्।

नेपाल चाइना लिगल कोअप्रेसन फोरमले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले केही समय पहिला आफू चीन भ्रमणमा गएको र त्यसताका चिनियाँ सर्वोच्च अदालतसहित केही अदालतहरुको अवलोकन गर्ने क्रममा अदालतमा सबै प्रक्रियाहरू अनलाइन प्रणालीबाट सम्पन्न हुने गरेको पाएको बताए।

उनले भारतमा पनि अदालतका कारबाहीहरू अनलाइनबाट हुने गरेको भन्दै नेपालमा पनि केही शुरु भएको तर पूर्ण रुपमा हुन नसकेको बताए। अबको केही वर्षभित्रै नेपालमा पनि अनलाइनबाट अदालती कामकारबाही अगाडि बढ्ने उनको दाबी छ। 

चीन र भारतबाट यसबारे अझ विस्तृत रुपमा अध्ययन गरेर नेपालमा अदालती प्रक्रियालाई अनलाइन प्रणालीबाट प्रभावकारी व्यवस्थापन गर्नेतर्फ अग्रसर हुनुपर्नेमा जोड दिए।

उनले भने, ‘म चीन भ्रमणमा जाँदा त्यहाँका अदालतहरु अवलोकन गर्ने मौका पाएको थिएँ। जसमा अदालतमा मान्छेहरु थिएनन्। मोबाइलबाट क्लाइन्टहरूले सर्भिस दिँदा रहेछन्। सूचनाहरू लिँदा रहेछन्। सबै इन्टरनेट र अनलाइनबाट त्यहाँको अदालती कारबाही हुँदो रहेछ। मैले इन्टरमिडिएट कोर्टमा एउटा सेसन हेरेँ, जज अगाडि बस्नुभएको थियो। वकीलहरू कम्प्युटर अगाडि लिएर जजसँग सँगसँगै कम्प्युटरमा काम गरिरहनुभएको थियो। बहस भन्दा पनि टेक्निकल भेरिफिकेसन्स। मुद्दाको विषयवस्तुसँग भेरिफिकेसन खालको कुराहरु उहाँहरुको बीचमा हुने रहेछ। मैले त्यहाँको सर्वोच्च अदालतको सबै डेटा कन्ट्रोल रुम हेर्ने मौका प्राप्त गरेँ। सबै अनलाइन प्रणालीमा गइसकेको रहेछ।’

उनले थपे, ‘हाम्रो लागि यो निकै महत्वपूर्ण हो। हाम्रो छिमेकी देश भारत पनि लगभग त्यो ठाउँमा पुगिसकेको छ। हामी भर्खर भर्खर स्क्यानिङ गर्न थालेका छौँ। केही केही अनलाइन सिस्टमका फाइलहरु डकुमेण्टहरु गर्न थालेका छौँ। चीन र भारतले गरेको यो प्रगति केही वर्षभित्र हामी त्यो अवस्थामा पुग्नेछौँ।’

कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले अरु देशहरूको कानुनी प्रक्रियाबारे जानकारी नलिइकन नेपालमा पनि कानुनी पद्धतिमा निखार आउन नसक्ने बताए। उनले एकनासे कानुन पद्धति कार्यान्वयन गरिरहन नसकिने बताए।

जति छ त्यत्तिमै सिमित हुनुपर्छ र यही विशेषता हो भन्नु जिद्दी मात्रै हुने बताए। कुनैपनि देशको कानुन आफूभित्रबाट मात्रै जन्मिएको र त्यहीँ हुर्किएको र त्यहीँ टुंगिएको भन्ने नभएको बताए। एक अर्काबाट पद्धतिगत अवलोकन भ्रमण गरेर त्यसको यथार्थताको बारेमा जानकारी लिनु राम्रो रहेको उनको भनाइ छ।

उनले कानुनहरु स्थानीय हुने तर त्यसका सिद्धान्त, दर्शन, अभ्यासहरु एक अर्काबाट सिकेर फेरि बिस्तारित र विकसित गर्न जरुरी हुने बताए। लिगल कोअप्रेसनको अभ्यास महत्वपूर्ण आयाम भएको जिकिर गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad