ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यशैलीमाथि प्रश्न उठाएका छन्।
मंगलबारको प्रतिनिधिसभा संसद् बैठकमा विशेष समय माग गर्दै सम्बोधन गरेका खड्काले घिसिङको कार्यशैलीमा प्रश्न उठाएका हुन्। मन्त्री खड्काले घिसिङले सरकारलाई टेर्दै नटेरको पनि जानकारी गराएका छन्।
‘उहाँले केही राम्रा काम गर्नुभयो होला। त्यसका लागि उहाँलाई के दिनुपर्छ दिउँला। तर सञ्चालक समिति निर्णय गर्छ। उहाँ कार्यान्वयन गर्नुहुन्न। सरकारलाई टेर्नुहुन्न’, खड्काले भने, ' उनले भने, ‘भारतबाट विद्युत ल्याएर लोडसेडिङ अन्त्य गरिएको छ। भारतबाट विद्युत ल्याउन ट्रान्समिसन लाइन बनाउने काम के कुलमानका कारण भएको हो? पूर्वमन्त्रीहरूले पनि जान्नुहुन्छ।’
उनले घिसिङ अराजक गतिविधि गरिरहेको र सधैँ हेरेर नबस्ने पनि बताए। उनले थपे, 'सञ्चालक समिति निर्णय गर्छ। उहाँ कार्यान्वयन गर्नुहुन्न। सरकारलाई टेर्नुहुन्न। भाषण गर्दै हिड्नुहुन्छ कर्मचारी। यस्ता अराजक गतिविधिलाई सरकारले सधैँ हेरेर बस्दैन। लगाम त लगाउनुपर्छ।’
उनले एउटा कर्मचारिका विषयमा सरकारमाथि धेरै प्रश्न नउठाउन पनि सांसदहरूलाई आग्रह गरे।
त्यस्तै बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिनेक्रममा उनले देशमा विद्युतीय विकास उच्च गतिमा भइरहेको सुनाए। खड्काले सरकारले अबको १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेकोले सोहीअनुरुप काम गरिरहेको दाबी गरे।
आफूले मन्त्रालय सम्हाले यता १६ वटा जलविद्युत आयोजनालाई सर्वेक्षण अनुमति पत्र, ३३ वटा प्रसारण लाइनको सर्वेक्षण अनुमति पत्र, १६ वटा आयोजनाको जलविद्युत निर्माण अनुमति पत्र र ११ वटा प्रशारण लाइन निर्माणको अनुमति पत्र दिइएको उनको भनाइ छ।
१४ वटा सौर्य विद्युत सर्वेक्षण अनुमति पत्र र २ वटा सौर्य विद्युत निर्माण अनुमति पत्र प्रदान गरेको समेत खड्काले बताए।
अहिले ९५० मेगावाट भारत निर्यात गरिरहेको खड्काले जानकारी दिए। उनले सर्वेक्षणका आधारमा अबको १० वर्षमा १३ हजार ५०० मेगावाट विद्युत आन्तरिक खपत गर्ने र बाँकी रहेको विद्युतको लागि समेत बजार सुनिश्चित भइसकेको दाबी गरे।
Shares

प्रतिक्रिया