राजनीति


कांग्रेस सत्तापक्ष हो तर, सरकारमा छैन : शेखर कोइराला

कांग्रेस सत्तापक्ष हो तर, सरकारमा छैन :  शेखर कोइराला

नेपालखबर
फागुन ६, २०८१ मंगलबार १३:२३, काठमाडौँ

नेपाली कांग्रेसका सांसद डा. शेखर कोईरालाले कांग्रेस अहिले सरकारमा नरहेको बताएका छन्।  मंगलबार काठमाडौंमा नेपाल प्रेस युनियनका शाखा अध्यक्षहरूको राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले कांग्रेस सरकारमा भएको तर सरकार बाहिरै रहेको बताएका हुन्। 

'हामी सरकार बाहिर छौँ, सत्ता पक्षमा छौँ तर सरकारमा छैनौँ,' उनले भने, 'हामीले यो सरकारलाई खबरदारी गरिरहनुपर्ने आवश्यकता छ। हामी प्रतिस्पर्धी पनि हौँ। भोलिको राजनीतिमा एमालेको प्रतिष्पर्धी नेपाली कांग्रेस हो। हामीले जे कुरामा चित्त बुझ्दैन, त्यसमा खबरदारी गरेर अघि बढ्नुपर्ने आवश्यकता छ। मलाई छ डर लागिरहेको छ, चिन्ता लागिरहेको छ। यो सरकार एमालेकरण त भइरहेको छैन भन्ने चिन्ता लागेको छ।'

संयन्त्रले सरकार चलाउनु गलत भएको उनको भनाइ छ। 'संयन्त्रले सरकार चलाउने कम्युनिस्ट मात्रै हुनसक्छ। साम्यवादी देशहरुमा मात्रै संयन्त्रले देश चलाउँछ,' उनले भने, 'यहाँ यही प्रक्रिया केन्द्रदेखि गाउँपालिकासम्म बनाइसकिएको छ। अब वडामा बाँकी छ। वडामा पनि संयन्त्र बनाउने दुष्प्रयास गर्न खोजिरहनुभएको छ। लोकतन्त्रमा संयन्त्रले देश चलाउने होइन । कता कता न थाहा पाउने गरी एमालेकरण भइरहेको छ।’

उनले अहिलेको गठबन्धन सरकार बनाउने विषयमा सबै लागेको तर अहिले सरकार लोकतन्त्रलाई अप्ठ्यारोमा पार्न लागिपरेको बताए। 

'यो सरकार बनाउने बेलामा हामी सबै लागेका थियौँ। देशमा सशुासन छैन, सुशासन दिन सकिन्छ, संविधान संशोधन गर्न सकिन्छ भनेर दुई ठूला दल मिलेर सरकार बनाऔँ भनेर लागेका थियौँ,' उनले भने, 'राजनीतिक स्थायित्व दिन सकिन्छ, देशलाई समृद्ध बनाउन सकिन्छ भनेर पहल गरेको हो । तर जसरी यो सरकार चल्दैछ, अघि बढ्दैछ, संसद्लाई छलेर अध्यादेश ल्याउने जमर्को गरिरहेको छ, यसले लोकतन्त्रलाई अफ्ठ्यारोमा पारिरहेको छ।'

उनले सरकारका महान्यायाधिवक्ता रमेश बडाल राज्यले दिएको अधिकारको दुरुपयोग गरिरहेको आरोप पनि लगाए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad