जिल्ला अदालत मोरङका तहसिलदार हरिप्रसाद गुरागाई सर्वोच्च अदालत तानिएका छन्।
मुद्दाको अन्तिम टुंगो नलाग्दै बरामद भएको सुन फिर्ता गर्न नेपाल राष्ट्र बैंकलाई आदेश दिएको पाइएपछि उनलाई छानबिनका लागि सर्वोच्च झिकाइएको स्रोतले जानकारी दिएको छ।
सर्वोच्च अदालतका एक अधिकारीका अनुसार, आरोपीबाट बरामद भएकोउक्त सुन मिसिलसाथ सबुदका रूपमा राखिएको थियो। मुद्दाको अन्तिम टुंगो नलाग्दै फिर्ता गर्न आदेश गरेको भेटिएपछि त्यस विषयमा छानबिन गर्न गुरागाईलाई झिकाइएको हो।
त्यससँगै उनले दिएको आदेश र सम्बन्धित कागजातहरू पनि छानबिनका लागि झिकाइएको छ।
सर्वोच्च अदालतले सोमबार उनलाई सर्वोच्च अदालतमा तत्काल हाजिर हुन भन्दै पत्र पठाएको छ।
‘गुरागाईंले गरेको आदेश प्रारम्भिक रूपमा हेर्दा गम्भीर खालको छ। छानबिन गर्दै जाँदा के कस्तो निष्कर्ष प्राप्त हुन्छ, हेरौँ,’ निर्णय प्रक्रियामा सहभागी अधिकारीले नेपालखबरलाई भने।
Shares

प्रतिक्रिया