ad ad

राजनीति


भोलिबाट पूरै देश लकडाउन, घरबाट बाहिर निस्कन नपाइने

भोलिबाट पूरै देश लकडाउन, घरबाट बाहिर निस्कन नपाइने

नेपालखबर
चैत १०, २०७६ सोमबार १३:४०,

नेपालमा कोरोना भाइरसबाट थप एक व्यक्ति संक्रमित भएको पाइएपछि सरकारले देशभर ‘लक डाउन’ गर्ने निर्णय गरेको छ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार उच्च स्तरीय समन्वय समितिको सोमबार साँझ बसेको बैठकले मंगलबार बिहान ६ बजेबाट देशभर ‘लक डाउन’ गर्ने निर्णय गरेको हो।

अहिलेका लागि एक साता लकडाउन गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए।

सो अवधिमा सवारी साधन चल्ने छैनन् भने मानिसहरुलाई घरभित्रै बस्न लगाइनेछ।

यसअघि स्वास्थ्य मन्त्रालयले फ्रान्सबाट कतार हुँदै गत साता नेपाल आएकी एक छात्रामा कोरोना भाइरसबाट संक्रमित भएको जानकारी गराएको थियो।

ती छात्रालाई टेकुस्थित शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार भइरहेको छ।

भिडियाे: 

उनको स्वास्थ्य अवस्था सामान्य रहेको सरकारले जनाएको छ। यसैगरी सरकारको अत्यावश्यक सेवाबाहेकको कार्यालय बन्द गर्ने निर्णय गरेको छ। कर्मचारीहरुलाई घरमै तयारी अवस्थामा रहने निर्देशन दिइएको छ। स्वास्थ्यकर्मी र सुरक्षाकर्मी बाहेक अन्य कर्मचारीलाई घरमा रहन भनिने छ।

त्यसैगरी समितिले नाका क्षेत्रमा भेला भएका नेपालीहरुलाई नेपाल प्रवेश गर्न दिन र क्वारेन्टाइनमा राख्न स्थानीय प्रशासनलाई निर्देशन दिएको छ।

समितिले गरेका निर्णयहरु यसप्रकार छन्ः
नेपालभर कोभिड–१९ को संक्रमण फैलने सम्भावना देखिएकोले नेपाल सरकारले संक्रामक रोग ऐन २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी  यसको रोकथाम र निर्मूल गर्न मिति २०७६ चैत ११ गते बिहान ६ बजे देखि २०७६ चैत १८ गते बिहान ६ बजेसम्म लागू हुने गरी देहाय बमोजिमको आदेश जारी गरेको छः

१. औषधि उपचार, खाद्य वस्तु खरिद जस्ता अत्यावश्यक काममा बाहेक नै पनि व्यक्ति घरबाट बाहिर ननिस्कने

२. अनुमतिप्राप्त सवारी साधन स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुवाहका सवारी साधन संचालनमा पूर्ण रोक लगाउने

३. सुरक्षा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका अन्य उडानहरू बाहेक अन्य सबै आन्तरिक व्यवसायिक उडानहरु बन्द गर्ने

४. स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दुध, विद्युत, दूरसञ्चार सूचना तथा संचार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन जस्ता अति आवश्यक सेवाबाहेक अन्य कार्यालय संचालनको लागि आवश्यक पर्ने कर्मचारी मात्र उपस्थित हुने व्यवस्था गरी अन्य कर्मचारीहरुलाई आवश्यक परेको बखत तत्काल उपस्थित हुने गरी सम्बन्धित कार्यालय प्रमुखले विदा दिने

५. औषधि तथा स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दूध, इन्धन उत्पादन गर्ने उद्योगहरु बाहेक निजी क्षेत्रबाट संचालित अन्य उद्योग कलकारखानाहरुमा काम गर्ने श्रमिक, कर्मचारीहरुलाई सम्बन्धित उद्योगले विदा दिने व्यवस्था मिलाउने

६. व्यवसायीहरुले औषधि र औषधिजन्य सामग्रीहरुको नियमित आपूर्तिको व्यवस्था गर्ने। अभाव देखाई मूल्य वृद्धि गर्ने वा कालाबजारी, जम्माखोरी गर्ने वा लुकाउने वा आपूर्तिमा अवरोध गर्ने व्यक्तिलाई प्रचलित कानुनबमोजिम नियन्त्रणमा लिने सामग्री जफत गरी रोगको रोकथाम र उपचारको कार्यमा उपयोग गर्ने।

७. संक्रामक रोग ऐन, २०२० को दफा २ को उपदफा २ बमोजिम जारी यस आदेशको कार्यान्वयन गर्नको लागि आवश्यक व्यवस्था मिलाउने

- संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रीकाे संयोजकत्वमा गठित कार्यदलबाट प्रस्तुत कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी क्वारेन्टाइन व्यवस्थापन मापदण्ड–२०७६ स्वीकृत गर्ने,

-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वमा आजैदेखि बलम्बुस्थित सशस्त्र प्रहरी बल, नेपालको अस्पतालबाट कोभिड १९ को रोकथाम, नियन्त्रण र उपचार सम्बन्धी कार्य नेपाली सेनाका चिकित्सकहरुको समन्वयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र आवश्यकता अनुसार सरकारी, सामुदायिक र निजी क्षेत्रका चिकित्सक नर्स र स्वास्थ्यकर्मीहरु परिचालन गरी शुरु गर्ने। यसका लागि रक्षा मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय र अर्थ मन्त्रालयले आवश्यक समन्वय गर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .