नेकपा एमाले सांसद ईश्वरबहादुर रिजालले क्यान्टोनमेन्ट्टमा घोटाला नभएको कुरा प्रमुख प्रतिपक्ष दलको नेताको बोलीबाट विश्वास गर्न नसकिने बताएका छन्।
मंगलबारको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले क्यान्टोनमेन्टमा गएर आफ्ना लडाकुहरूलाई राज्यले पैसा दिने र त्यसको केही खर्च राखेर अरु विद्रोहको लागि राख्नु भनेर बोल्ने कुराले भ्रष्टाचार भएको पुष्टि हुने जिकिर गरे।
उनले त्यो भन्दा ठूलो शब्द प्रमाण के हुन्छ भन्दै प्रश्न गरे।
उनले भने, ‘प्रतिपक्ष दलको नेता, पूर्वप्रधानमन्त्री क्यान्टोनमेन्टमा जानुहुन्छ। क्यान्टोनमेन्टमा गएर त्यहाँ आफ्ना लडाकुहरूलाई आफ्नो विद्रोहको तयारी गर्दैछौँ भन्नुहुन्छ, सेनाको संख्या घट्यो तपाईंहरू भन्नुहुन्छ त्यहाँ। होइन सेनाको संख्या बढाएका छौँ। हामी सबैलाई थाहा छ। हामी युद्धको बेलामा सात हजार थियौँ भन्नुहुन्छ। तर हामीले शान्ति प्रक्रियामा आइसकेपछि ३५ हजार पुर्याऔँ भन्नुहुन्छ। अनि ३५ हजारको भेरिफिकेसन १९ हजारमा आयो भन्नुहुन्छ। अहिले हामी ७ हजारबाट १९ हजार भयौँ। यही हो नेतृत्वको कुटनीतिक रणनीतिकरण भनेर भन्नुहुन्छ।’
उनले थपे, ‘राज्यले पैसा दिन्छ, केही लिनुहोला खर्चको रुपमा अरु पैसाहरू सबै विद्रोहको रुपमा तयार गरिन्छ भन्नुहुन्छ। म भन्छु नि बेलाबेलामा ट्रकमा आउँछ भनेर। त्यसको लागि तयारी गरिनेछ भनेर स्पष्ट गर्नुभएको छ। यो शब्द प्रमाण होइन र? सुप्रिमोले क्यान्टोनमेन्टमा गएर दुनियाँले सुन्नेगरी जताततै सुनिनेगरी त्यो भन्नु के त्यहाँ भ्रष्टाचार भएको छैन भनेर। कि त प्रमुख प्रतिपक्ष दलको नेता बोलेको होइन भनेर पुष्टि हुनुपर्छ। होइन भने उहाँले बोलेको कुराका आधारमा क्यान्टोनेमनमा भ्रष्टाचार भएको थिएन भनेर कसरी पत्याउने? यो भ्रम र भ्रान्ति दिने काम नगरौँ।’
उनले नेकपा माओवादी केन्द्रको जिम्मेवार व्यक्तिबाट चीनका व्यापारीसँग पैसा मागेको कुरा पनि सुनिएको भन्दै भ्रष्टाचारमा माओवादी नेताहरू चोखो नरहेको बताए।
उनले आफू सबैकुराबाट शुद्ध र अरुलाई मिथ्या ढंगले प्रश्तुत गर्नेकुरा नमिल्ने बताए।
उनले भने, ‘हामीले अरु पनि कुरा सुनेका छौँ। चीनतिरको व्यापारीसँग फोन सम्पर्क गरेको कुराहरू। यति पैसा, उति पैसा चाहियो भन्नेहरू नेकपा माओवादी केन्द्रको अत्यन्तै जिम्मेवार व्यक्तिबाट हामीले सुनेका छौँ। आफू सबैकुराबाट शुद्ध अरुलाई मिथ्या ढंगले आरोपित गर्न मिल्दैन।’
Shares

प्रतिक्रिया