नेपाल लाइफ इन्स्योरेन्सको २५औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।
कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईको अध्यक्षतामा यही माघ २८ गते पर्साको वीरगन्जमा सभा भएको हो।
सभाले अध्यक्षबाट प्रस्तुत भएको आ.व.२०८०÷८१ को वार्षिक कार्यप्रगति प्रतिवेदन छलफल गरी पारित गरिएको छ। लेखापरीक्षकको प्रतिवेदनसहितको आ.व.२०८०÷८१ को वासलात, नाफा–नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गरिएको कम्पनीले जनाएको छ।
यस सभाले आ.व. २०८१÷८२ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गरेको छ।
साधारण सभाले आ.व. २०८०÷८१ को वितरण योग्य मुनाफाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पुँजी ८ अर्ब २० करोड ७९ लाख ६६ हजार ५५४ रुपैयाँको जम्मा २१.०५ प्रतिशतले हुन आउने रकम १ अर्ब ७२ करोड ७९ लाख ९२ हजार ९५९ रुपैयाँ लाभांशको रुपमा प्रदान गर्ने जसमा १० प्रतिशत बोनस सेयर र ११.०५ प्रतिशत नगद लाभांश (बोनस सेयर तथा नगद लाभांशको करसहित) प्रदान गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ।
अध्यक्ष संघईले जीवन बीमा क्षेत्रमा कम्पनीको व्यवसायिक हिस्सा र गरिमालाई तमाम चुनौतीहरुबीच अझै नयाँ उचाइमा अगाडि बढाउनका लागि संरचनात्मक सुधार, संस्थागत सुशासनको पूर्ण पालना, सुदृढ आन्तरिक नियन्त्रण प्रणाली, सेवा प्रणालीमा नविन प्रविधिको प्रयोग, सम्पत्ति र दायित्व बीचको सन्तुलन, ग्राहक केन्द्रित योजना, विकेन्द्रीकरण, तालिम एवं अनुसन्धान तथा नयाँ बजारीकरण रणनीति अवलम्बन गरि अर्को सुनौलो यात्रातर्फ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
कम्पनीले आफ्नो व्यापार र सेवामा अन्तर्राष्ट्रिय व्यावसायिक मापदण्डलाई अवलम्बन गरिरहेको बताए। कम्पनीको निरन्तर विकासको लागि दीर्घकालिन रणनीति निर्माण गर्न, सिकाइ व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउन, ग्राहकलाई थपस्तरीय सेवाको अनुभूति गराउन, अटोमेसनको प्रयोगबाट समयको बचत र लागत घटाउन, भविष्यमा कम्पनीलाई डिजिटल रुपमा रुपान्तरण गर्न कार्य आरम्भ गरिसकिएको बताए। साथै, कम्पनीले जोखिम व्यवस्थापन फ्रेमवर्क तयार गरी व्यवसायसँग सम्बन्धित जोखिमहरुको समेत उचित व्यवस्थापन गरिरहेको जानकारी गराए।
सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईले साधारणसभामा सेयरधनीहरुले राखेका सुझावहरुलाई सकारात्मक रूपमा लिइने बताए।
नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल बीमा प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लि., सिडिएस एण्ड क्लियरिङ्ग लि. र अन्य सम्बन्धित निकायहरुबाट प्राप्त निरन्तर सहयोग र मार्ग निर्देशनका लागि उनले कृतज्ञता व्यक्त गरे।
प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले आ.व.२०८०÷८१ मा आएका चुनौतीहरुलाई अवसरहरुमा परिणत गरी हासिल गरिएका व्यावसायिक उपलब्धि र भावी योजनाहरु बताए।
२०८१ असोज मसान्तसम्ममा यस कम्पनीको लगानी २ खर्ब १५ अर्ब रुपैयाँ छ भने जीवन बीमाकोष २०८ अर्ब रुपैयाँ र सेयरधनी कोष १२ अर्ब बढी छ।
कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल १ सय ९५ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ।
यसका साथसाथै कम्पनीले हालसम्म २ खर्ब ८८ अर्ब रुपैया बीमाशुल्क आर्जन गरेको छ भने ८४ अर्ब जम्मा दाबी भुक्तानी गरेको छ।
Shares

प्रतिक्रिया