नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्र केसीले राजीनामा दिएका छन्। तर उनले एआईजीमा बढुवा हुनु पहिले नै एक महिनापछि राजीनामा दिने वाचा गरेको खुलेको छ।
बढुवा सिफारिस समितिले पुस १६ गते केसी र कुवेर कडायतलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो। प्रतिस्पर्धामा डीआईजी जनक भट्टराई पनि थिए।
केसी र कडायत एआईजी बन्दा भट्टराई डीआईजीबाटै अवकास हुनेभएपछि त्यतिबेलै केसीलाई राजीनामा दिने वाचा गराइएको थियो। त्यतिबेलै भएको सहमतीअनुसार केसीले माघ २५ गते राजीनामा दिएका हुन्।
कर्णाली प्रदेश प्रमुखसमेत रहेका भट्टराईलाई अब एक महिनाका लागि एआईजी बनाउने तयारी छ। भट्टराईलाई त्यतिबेला एक महिनापछि बढुवा गर्ने वाचा गरिएको प्रहरी प्रधान कार्यालय उच्च स्रोतले पुष्टि गरेको छ।
‘यस्तो सहमति पहिल्यै भएको थियो। जनक भट्टराई डीआईजीबाट अवकास हुने भएपछि उसलाई पनि एआईजी बनाउन केसीले बीचमा राजीनामा दिने सहमती गरेका थिए’, प्रहरी उच्च स्रोतले भन्यो।
केसीको राजीनामा प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा पठाइसकेको छ। अब बस्ने मन्त्रि परिषद् बैठकबाट केसीको राजीनामा स्वीकृत गर्ने र भट्टराईलाई एआईजीमा बढुवा गर्न सिफारिस गर्ने तयारी छ।
डीआईजी जनक भट्टराई प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरका ब्याची हुन्। यसअघि अवकास हुनेलाई पनि सरकारले छोटो समयका लागि एआईजी बनाउँदै पठाएको थियो।
नेपाल प्रहरीमा एआईजीको दरबन्दी ८ जना छ। तर आईजीपी कुँवरसँग डीआईजीमा बढुवा भएकाहरू अधिकांश एआईजी बनेका छन्।
एआईजीहरू टेकप्रसाद राई, बुद्धिराज गुरुङ, दुर्गा सिंह, कुवेर कडायत र केसी आईजीपी कुँवरकै ब्याची हुन्। यो ब्याचको वैकल्पिक टोलीका दीपक थापा, सुदीप गिरी र टेकप्रसाद तामाङ पनि एआईजी भइसकेका छन्। चैत ५ गतेपछि उनीहरू मध्येबाट एक जना आईजीपी बन्नेछन्।
तर कुँवरका ब्याचका अरू पनि एआईजी बनेरै अवकास भएका छन्। कुँवरकै ब्याचका सन्दीप भण्डारी, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, उमेशराज जोशी, मिरा चौधरी, रामदत्त जोशी, किरण राणा, भरतबहादुर बोहरा र केदार ढकाल पनि एआईजीबाटै अवकास भएका थिए। उनीहरू सबै एआईजीको ५६ वर्षे उमेर हदका कारण अवकास भएका हुन्। यस ब्याचका सबै २०८१ चैत ५ गतेबाट आईजीपी कुँवरसँगै अनिवार्य अवकास हुनेछन्।
यो पनि
Shares

प्रतिक्रिया