राजनीति


प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन : कुनै पनि प्रकारको दबाबमा नपरी काम गर्नू

प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन : कुनै पनि प्रकारको दबाबमा नपरी काम गर्नू

नेपालखबर
माघ २६, २०८१ शनिबार १५:५६, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि प्रकारको दबाब र भनसुनमा नपरी प्रमाण र तथ्यमा आधारित न्यायसंगत अनुसन्धान गर्न नेपाल प्रहरीलाई आग्रह गरेका छन्। 

भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लब परिसरमा नव निर्मित ‘द ब्लु प्याभिलियन’ भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले प्रहरी ठिक ढङ्गले चलेमा सरकारको तर्फबाट कुनै हस्तक्षेप नहुने स्पष्ट गर्दै अनावश्यकरुपमा त्रसित नभई न्याय स्थापनामा दृढ ढङ्गले अगाडि बढ्न आग्रह गरेका हुन्।

‘तपाईंहरू जनताको अपेक्षा अनुसार चल्नु पर्छ। जनताले प्रहरीबाट निष्पक्ष र राम्रो व्यवहारको अपेक्षा गरेको छ। त्यसैले तपाईहरूले संविधान र कानुनबमोजिम देश र जनताको हितलाई शीरमा राखेर काम गर्नुस्,’ प्रधानमन्त्री ओलीले भने, ‘कुनै तस्कर, भ्रष्ट र ठगहरूमाथि अनुसन्धान गर्दा उल्टै उनीहरूका ठूला कुरा र हप्की सुन्नुपर्ने अहिलेको प्रवृत्ति पनि प्रभावित हुनु हुन्न। निर्धक्क भएर काम गर्नुस्। मुलुकमा शान्ति सुव्यवस्था कायमका साथै राष्ट्रिय हित र एकतालाई ध्यान दिएर अझ प्रभावकारी रुपमा काम गर्नुस्।’

प्रधानमन्त्री ओलीले विगतमा देश र जनताको सुरक्षाका क्रममा प्रहरीहरू लडिरहँदा नेपाल प्रहरी र नेपाली सेनाका कतिपय अधिकृतहरू आफ्नो दुनो सोझ्याउन भित्रभित्र विरोधीसँग साँगसाँठ गर्नु अशोभनीय र घिनलाग्दो स्वार्थ भएको टिप्पणी गरे। उनले नेपाल प्रहरीलाई सबै प्रहरीको घरका रुपमा स्थापित गर्दै यहाँभित्र मूल्याङ्कन र अवसरका क्रममा आफ्नो तान्ने प्रवृत्ति भए त्यस्ता कमजोरी सच्याएर जानुपर्नेमा पनि जोड दिए। विसं. २०७७ जेठ ११ गते शिलान्यास भएको उक्त प्याभिलियनको ७५ करोड ८७ लाखमा निर्माण सम्पन्न भएको जानकारी दिइएको छ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल प्रहरीको इतिहास भाग-२ को विमोचन गरे भने भवन निर्माणमा योगदान दिने अधिकारी, प्राविधिक र निर्माणकर्तालाई सम्मान प्रदान गरे। यस्तै नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रधानमन्त्री ओलीमार्फत प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा ७४ लाखको चेक हस्तान्तरण गरे। 

कार्यक्रममा गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीको ऐन संशोधनको विधेयक संसद्‌मा पेस भएको र यसमा आउने रचनात्मक सुझावलाई परिमार्जनमा समावेश गरेर छिटो पारित गर्ने विश्वास दिलाए। कार्यक्रममा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, संघीय सांसद ध्रुवबहादुर प्रधानलगायत उपस्थित थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad