परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा आरजु राणा देउवाले पार्टी सङ्गठन बलियो बनाउन सबै कार्यकर्ता सकारात्मक सोचसहित अघि बढ्नुपर्ने बताएकी छन्।
आज धनगढीमा आयोजित नेपाली कांग्रेस कैलालीको दोस्रो जिल्ला अधिवेशनमा उनले पार्टीको नीति एवं मार्गदर्शनबमोजिम सकारात्मक सोचसहित पार्टी सङ्गठनमा बलियो बनाउँदै समृद्ध मुलुक निर्माण गर्ने अभियानमा लाग्न सबैलाई आग्रह गरिन्।
उनले सामाजिक सञ्जालको सही सदुपयोग गर्दै ज्ञान, सीप र विचार आदानप्रदान गर्न सबैलाई आग्रह गरिन्। परराष्ट्रमन्त्री डा राणाले हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि आफूले निरन्तर प्रयास गरिरहेको जानकारी दिइन्।
कांग्रेसका केन्द्रीय सदस्य एवं पार्टीले थालेको सयदिने अभियान कैलाली प्रतिनिधि योगेन्द्र चौधरीले देशका जातजाति, विभिन्न वर्ग र समुदाय, भाषाभाषीका लागि कांग्रेस साझा पार्टीका रूपमा रहेको धारणा राखे। उनले कांग्रेसकै नेतृत्वमा कमैयाप्रथा र दासप्रथाको उन्मूलन भएको इतिहास स्मरण गरे।
पार्टीका जिल्ला सभापति नारायणदत्त भट्टको अध्यक्षतामा भएको समारोहमा पार्टीका केन्द्रीय सदस्य सुशीला मिश्र भट्ट, नृपबहादुर ओड, डा रणबहादुर रावल, रामजनम चौधरी, डा जीवन रानालगायत वक्ताले पार्टी सङ्गठनका बारेमा आ–आफ्नो धारणा राखेका थिए।
अधिवेशनमा पार्टीको कार्ययोजनासहित विविध विषयमा छलफल हुने जिल्ला सचिव नृप सुनारले जानकारी दिए। रासस
Shares

प्रतिक्रिया