नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले अध्यादेशको विषयवस्तु गलत छैन भने अध्यादेश ल्यायो भनेर विरोध गर्नुको कुनै औचित्य नरहेको बताएका छन्। बिहीबारको प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन्।
प्रतिपक्ष दलले अध्यादेश किन ल्यायो भनेर प्रश्न गर्नु स्वभाविक भए पनि कन्टेनमा कुनै नराम्रो कुरा नभएपछि विरोधको अर्थ नहुने उनको भनाइ छ।
उनले विपक्षी दलहरूले यसकारण यो अध्यादेश त्रुटिपूर्ण छ भनेर भन्न नसकेको बताए। सरकारको नेतृत्वले विशेष दुरुपयोग गर्ने लक्ष्यका साथ अध्यादेश ल्याएको भए दोष देखाइदिन आग्रह गरे।
‘६ वटा अध्यादेश संसदमा प्रश्तुत गरिएको छ, किन केही दिन अगाडि मात्रै प्रश्तुत भयो भनेर उठाउनुभएको छ । विपक्षी दलको हैसियतले अध्यादेश किन ल्यायो भनेर प्रश्न गर्नुलाई मैले अस्वभाविक ठानेको छैन,' उनले भने, 'तथापि मलाई लाग्छ, त्यसको कन्टेन्टको बारेमा समस्या त हामीले देखिरहेका छैनौँ । उहाँले पनि स्पष्ट रुपमा कन्टेनको रुपमा खासै आपत्ति जनाउनुभएको छैन । यदि अध्यादेशको बारेमा उल्लेखित विषयवस्तुको बारेमा समस्या छैन भने त्यसबाट सरकारमा बसेका, सरकारको नेतृत्वले विशेष दुरुपयोग गर्ने लक्ष्यका साथ त्यो आयो, भन्नुको कुनै औचित्य छैन । त्यहाँ समस्या छन्, विशेष रुपमा योयो विषयवस्तुहरू खास उद्देश्यले ल्याइएको हो, भन्ने छ भने बुँदागत रुपमा योयो यसकारण ल्याइएको हो भन्नुपर्छ । त्यो आइरहेको छैन ।'
आर्थिक विकासलाई द्रुत गतिमा अघि बढाउन अध्यादेश आएको उनको भनाइ छ। 'भनेपछि कन्टेन ठिक छ भने अध्यादेश ल्याएकै कारणले आपत्ति गरिरहनुपर्ने आवश्यकता छैन । समयमै टुंगिओस्, आर्थिकमन्दीलाई समाप्त पारेर आर्थिक विकासलाई द्रुत गतिमा अघि बढाउन दुई महिनाभित्रै सम्पूर्ण कुरा टुंगो लगाउने लक्ष्यका साथ यो अध्यादेश आएको हुनुपर्छ,' उनले भने, 'कन्टेनमा कतै समस्या छ भने छलफल गरौँ । अध्यादेश ल्याएकै कारण बिरोध गर्नुपर्छ, फेल गराउनुपर्छ भन्ने मान्यता उपयुक्त होइन।’
Shares

प्रतिक्रिया