कोसी प्रदेशसभाको स्थापना दिवसको अवसरमा सभामुखले जारी गरेको वक्तव्यको विषयलाई लिएर विवाद भएको छ। सभामुख अम्बरबहादुर विष्टले प्रस्तुत गरेको मन्तव्यमा उपसभामुखलाई होच्याउने मनसाय व्यक्त गरेको भन्दै विवाद भएको हो।
कोसी प्रदेशसभा सचिवालयले सातौँ वार्षिक उत्सवको अवसरमा मङ्गलबार कोसी प्रदेशसभा परिसरमा कार्यक्रमको आयोजना गरेको थियो। कोसी प्रदेश सरकार मुख्यमन्त्री, सबै मन्त्रीहरू, सांसद, पूर्वसभामुख, पूर्वसांसदसहित मन्त्रालयका सचिवहरूलाई पनि बोलाइएको थियो।
उपसभामुख सिर्जना दनुवारको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम सभामुख अम्बरबहादुर विष्टको वक्तव्यसँगै सकिएको थियो।
सभामुख विष्टले व्यक्त गरेको वक्तव्यमा उपसभामुख सिर्जना दनुवारले प्रदेशसभा नै असफल जस्तो वक्तव्य आएको बताइन्। सभामुखको वक्तव्यको पेज नम्बर ९ मा उल्लेख भएको तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछिको करिब ६ महिना सभामुख पद खाली रहेर उक्त स्थानमा आफूलाई सभामुख पदमा सभाले सर्वसम्मत रूपमै निर्वाचित गरेको भन्ने विषयलाई उनले अपत्ति जनाइन्।
‘माननीय बाबुराम गौतमले राजीनामा दिएपछि मैले तेस्रो अधिवेशनमा चारवटा विधेयकमाथि छलफल गराएको थिएँ,' उनले भनिन्, 'उहाँले जारी गर्नु भएको वक्तव्यको कहीँ कतै त्यो कुरा उल्लेख भएको छैन, उपसभामुखले गरेको काम कारबाहीको अपमान गर्ने काम भएको छ।’
उपसभामुख दनुवारका अनुसार, प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक, स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, कोसी प्रदेश विनियोजन विधेयक २०८०र कोसी प्रदेश आर्थिक विधेयक २०८० सभामुख नभएको अवस्थामा आफ्नै नेतृत्वमा आएको हो।
सभामुख मलेसियाको भ्रमण जाने क्रममा समेत उपसभामुखलाई कार्यवाहक सभामुखको जिम्मेवारी नदिई विदेश सयर गरेको विषय पनि सँगै उठेको छ। सभामुख विष्टले उपसभामुख दनुवारलाई कार्यवाहक नदिई मलेसिया गएका थिए। डिसेम्बर १ तारिखमा मलेसिया गएका विष्ट ६ तारिखमा फर्किएका थिए। सभामुख विदेश भ्रमणमा भएको समयमा कार्यवाहक जिम्मेवारी उपसभामुखलाई लिखित रूपमा दिएर जानु पर्ने अभ्यास रहेको छ।
प्रदेशसभा सचिवालयले सभामुखको वक्तव्यमा त्यो ६ महिना उपसभामुख केही गरेको वा नगरेको भन्ने कुनै कुरा उल्लेख नभएको बताएको छ। कोसी प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले सभामुखले प्रस्तुत गरेको विषय प्रदेशसभा सचिवालयले ल्याएको प्रतिवेदन नभई सभामुखकै तबरले आएकोले यसमा प्रतिक्रिया आवश्यक नभएको बताए।
कोसी प्रदेश सभाका सभामुख अम्बरबहादुर विष्टले अध्यक्षको मन्तव्य राख्दै पहिलो काम प्रदेश नामकरण राखेको बताएका छन्। ‘२०७९ फागुन १७ गते प्रदेशको नाम कोसी नामकरण भयो। यद्यपि नाम सम्बन्धमा अझै पनि केही वर्ग र समुदायको असन्तुष्टि देखिन्छ, उनले भने, यसलाई वार्ताबाट समाधान गर्न सरकार र दलका नेताहरूले प्रयास गरिरहेकै बुझेको छु र यो समाधान हुनेमा विश्वस्त छु।’
सभामुखले प्रदेशसभाको दोस्रो कार्यकालमा सभामा दलहरूको उपस्थिति अंकगणितीय हिसाबले केही समस्याहरू आएको पनि भन्न भ्याए। सभामुख विष्टले प्रदेश संरचना प्रति नै असन्तुष्टि जनाउँदै आएका छन्। उनले प्रदेश संरचनाले नागरिकको विश्वास जित्ने काम गर्न नसकेको बताउने गरेका छन्।
Shares

प्रतिक्रिया