गणपूरक संख्या नपुग्दा पूर्वाधार विकास समितिको बैठक स्थगित भएको छ।
प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएको हो। बुधबार बिहान साढे ११ बजेका लागि बोलाइएको बैठकमा सांसदहरूको गणपूरक संख्या नपुगेपछि स्थगित गरिएको समिति सभापति दीपक सिंहले जानकारी दिए।
उनले समिति बैठक बस्नको लागि १४ जना सांसद आवश्यक भएपनि १२ जना मात्रै सांसद उपस्थित भएको बताए। उनले दुई जना नपुगेर १ घण्टासम्म कुरे पनि सांसदहरु उपस्थित नभएकाले बैठक स्थगित भएको बताए। उनले शहीद दिवस र सार्वजनिक विदा भएकाले सांसदहरु बाहिर जिल्ला जानुपर्ने भएकाले पनि नेपाली कांग्रेसका सांसदहरुले बैठक सार्न आग्रह गरे पनि बैठक बोलाई सकेकाले स्थगित गर्न नसकिएको जानकारी दिए।
सभापति सिंहले बैठकमा नेपाली कांग्रेसका दुई,एमालेका पाँच, माओवादीका एक, राप्रपाका दुई जना, जसपाबाट १ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट दुई जना नै बैठकमा उपस्थित नभएको बताए। समितिको बैठक आगामी माघ २४ गते विहान साढे ८ बजेका लागि बोलाउने निर्णय भएको उनले जानकारी दिए।
नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले पूर्वाधार समितिमा दुई ठूला जलविद्युत परियोजनाहरु मुगु कर्णाली र किमाथाङ्का अरुण परियोजना निजी क्षेत्रलाई दिने निर्णयका विरुद्ध परेको उजुरीका विषयमा मन्त्रालयको धारणा माग गर्नको लागि मन्त्रीलाई बोलाएको बताए।
उनले समितिमा कोरम पुर्याउँदा पुग्ने अवस्था भएपनि नेपाली कांग्रेसका एक जना पनि सांसदहरू बैठकमा उपस्थित नहुँदा बैठक स्थगित गर्नुपरेको बताए।
सापकोटाले नेपाली कांग्रेसका सांसद कल्पना चौधरी र राजेन्द्र बजगाइं समितिमा आएर उपस्थित भएर मात्रै फर्किएको बताए। नेपाली कांग्रेसका सांसदहरू एजेण्डा प्रश्तुत गर्ने समयमा बाहिरी सकिएकाले बैठक अघि बढाउन नसकिएको बताए।
मन्त्रालयले समितिले कोरम पुर्याउन नसकेको देखाउनको लागि कांग्रेसका सांसदहरूलाई उपस्थित नगराएको देखिएको आरोप लगाए।
बैठकमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयसँग समितिमा प्राप्त उजुरीबारे छलफल गर्ने कार्यसूचि थियो। छलफलका लागि ऊर्जामन्त्री दीपक खड्का र राज्यमन्त्री पूर्णबहादुर तामाङ समितिको सभाकक्षमा पुगेका थिए। तर सांसदहरूको कोरम नपुगेपछि ऊर्जामन्त्री र राज्यमन्त्री फर्किनु परेको थियो।
Shares

प्रतिक्रिया