नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीको रोकिएको मतगणना तीन दिनपछि मंगलबार राति सुरु भएको छ।
गन्न बाँकी ५२२ मत पार्टीको हेडक्वाटर पेरिसडाँडामा गणना सुरु भएको अध्यक्षका एक उम्मेदवार हेमन्त राइका तर्फबाट प्रतिनिधि बसेका बाबुराम नेपालीले जानकारी दिए।
मतपत्रमा विभिन्न मसी लगाइएको भन्दै गत आइतबार बिहानदेखि गैरभौगोलिक दुई प्रदेशको मतगणना रोकिएको थियो।
त्यसयता लगातार छलफल भए पनि सहमति जुटेको थिएन।
मंगलबार राति १० बजे अध्यक्षका चारै उम्मेदवारसहित निर्वाचन समिति, फ्याक्सन इन्चार्ज सहित छलफल गरेर मसीको विवाद नगर्ने खसेको मतपत्र सबै गणना गर्ने समझदारी भएको हो।
'मसीको विवाद नगर्ने, सबै गणना गरेर जाने भयो,' उनले भने।
नयाँ नेतृत्वका लागि माघ १२ गते मतदान भएको थियो। सोही दिन बेलुकादेखी मतगणना सुरु पनि भयो।
सात प्रदेशको नतिजा भने सार्वजनिक भइसकेको छ।
अब गैरभाैगोलिक २ प्रदेशअन्तर्गत काठमाडौँको वाल्मीकि विद्यापीठको मतदान केन्द्रमा खसाइएको ५२२ मत मात्र गन्न बाँकी छ।
तिनै मत अहिले पेरिसडाँडामा बसेर गन्न थालिएको हो।
क्रान्तिकारीको अध्यक्षका लागि पाँच उम्मेदवार रहे पनि अहिलेसम्मको मत परिणाममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षधर विजय शर्मा सापकोटा र महासचिव जनार्दन शर्मा पक्षधर हेमन्त राईबीच कडा टक्कर देखिएको छ।
Shares

प्रतिक्रिया