राजनीति


ओलीको कटाक्ष– खोक्न पाएको छैन, आईसीयू बसेको फोटो आइहाल्छ

एमाले र कांग्रेस मिलेकाले सरकार ढल्यो–ढल्यो भनेर छाती पिट्नु र बिलौना गर्नुको विकल्प विपक्षीलाई नभएको टिप्पणी
ओलीको कटाक्ष– खोक्न पाएको छैन, आईसीयू बसेको फोटो आइहाल्छ

नेपालखबर
माघ १४, २०८१ सोमबार १६:१७, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको खिचातानीमा मात्रै केन्द्रित हुने प्रवृत्तिबाट देशलाई मुक्त बनाउँदै दुई ठुला दलको सहकार्यमा रहेको अहिलेको सरकारले विकास र स्थिरताको बलियो आधार तयार गरेरै छाड्ने बताएका छन्।

भक्तपुरको सूर्यविनायक नगरपालिकाको कटुञ्जेस्थित नवनिर्मित प्रशासकीय भवनको सोमबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजतन्त्रका पालामा शासन टिकाउनका लागि मरिमेट्दा विकास राम्ररी हुन नसकेको र लोकतन्त्रयताका विकास निर्माणको गति बेग्लै भएको बताए।

‘अब नेपालमा विकासको क्रममा अगाडी बढेको छ। जो भए पनि विकास भइहाल्छ भन्ने कुरा सही होइन,’ ओलीले भने, ‘राम्रो प्रणाली नभईकन विकास हुँदैन। काम गर्ने खालको पार्टी सरकारमा नभएर विकास हुँदैन। देश साँच्चै अप्ठ्यारोमा परेकाले दुई ठूला दलको सहकार्यमा देशलाई एकताबद्ध बनाउँदै सरकारले विकासको अगुवाइ गर्नैछ। सरकार अहिले ढल्यो, भरे ढल्यो भनेर कसैले छाती पिट्नु र बिलौना गर्नुको कुनै विकल्प छैन। नेपाली कांग्रेस र नेकपा (एमाले)ले अब देशलाई स्थिरता दिने संकल्प गरिसकेका छन्। यसमा ढुक्क भए हुन्छ।’

प्रधानमन्त्री ओलीले पूर्व सहमतिअनुसार अहिले आफूले कांग्रेसबाट पूराका पूरा साथ पाएको र भोलि कांग्रेस नेतृत्वको सरकारलाई पनि एमालेले पूराका पूरा साथ दिने स्पष्ट गरे। उनले संसद्को हिउँदे अधिवेशनलाई कानुन निर्माणका व्यापक काम दिने पनि जनाउँदै सहमति भए छिटै संविधान संशोधन हुने र सहमति नभएमा केही समय लाग्ने स्पष्ट गरे।

प्रधानमन्त्री ओलीले आफूलाई रुघाखोकी लागेको समयमा अस्पतालको आइसीयूमा रहेका बेलाका तस्बिर सार्वजनिक गरेर भ्रम फैलाइएकामा टिप्पणी गर्दै भने, ‘मलाई रुघाखोकी लागेको हो। एन्टीबायोटिकले अलि कमजोर बनाएको छ तर हाँच्छ्यू गरेको देख्यो भने आइसीयूकक्षकमा बसेको फोटो आइहाल्छ। खोक्न पाएको छैन आइसीयुमा बसेको देखाउँछन्।’

प्रधानमन्त्री ओलीले सरकारको विरोध गर्ने नाममा सीमित संख्या भएकाहरुको मोर्चा शक्ति बनाए भनेर चेतावनी दिनेहरुको भ्रमबाट मुक्त हुन पनि आग्रह गरे।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad