प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकास गर्नु ख्यालठट्टाको कुरा नभएको बताएका छन्।
सोमबार भक्तपुरको सूर्यविनायक नगरपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
उनले मुलुक आर्थिक र सामाजिक रुपमा अफ्ठ्यारोमा परेका कारण संसदका दुई ठूला दल मिलेर सरकार बनेको स्पष्ट पारे।
उनले केही अराजक तत्वहरूले तमासा गरिरहेको उल्लेख गर्दै मिडियाबाजीले राजनीति नहुने बताए।
‘अहिले नेपाली कांग्रेस र नेकपा एमाले दुई वटा प्रतिष्पर्धी भनेर भनिएका पार्टीहरु किन मिलेर जानुपर्यो। यसकारण कि देश साच्ची अप्ठ्यारोमा पर्यो। देशै रहन्छ कि रहँदैन, प्रणाली नै रहन्छ कि रहँदैन भन्ने स्थितिमा देश पुगिसक्यो’ प्रधानमन्त्री ओलीले भने, ‘अनि अनेकथरि तत्वहरु यो देशमा तमासा गरेजस्तो भयो। यताबाट फुत्किएर एउटा झिल्केले चटकबाजी देखाउँछ, के–के भन्छ? उफ्रिन्छ। मिडियाबाजी गर्छ, अनेक गर्छ। अर्कोतिरबाट अर्को निस्किन्छ। उ पनि त्यस्तै गर्छ। देश बनाउनु कुनै ख्यालठट्टाको कुरा हो र? मजाकको कुरा हो र?’
उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले मुलुकको आर्थिक ढुकुटी रित्याउने काम गरेको आरोप लगाए।
प्रधानमन्त्री ओलीले सबै मुलकमा ऋण बढ्दै गएको तर आयको सबै बाटोहरु बन्द भएका कारण वर्तमान सरकार गठन भएको जिकिर गरे।
उनले भने, ‘अस्ति तीन वर्ष पनि सरकार थियो। अबको तीन वर्षपनि सरकार जान्छ, के भयो र? त्यस्तो होइन। अस्ति तीन वर्षको सरकारले मुलुकलाई रसातलमा पुर्यायो। ढुकुटी रित्यायो। तिर्नुपर्ने ठाउँ सबै बाँकी आउनुपर्ने ठाउँ कतैपनि छैन। त्यस्तो बनायो।’
मुलुकलाई स्थिरता र स्थायित्वको बाटोमा लैजान वर्तमान सरकार बनेको दोहोर्याउँदै उनले कसैले बिलौना गर्दैमा सरकार नढल्ने दाबी गरे।
संसदका दुई ठूला दल मिलेर मिलेर पनि मुलुकको विकास गर्न नसके मुलुकमा अर्को विकल्प नरहेको उल्लेख गर्दै उनले त्यसपछिको जनताको निराशा भयानक हुने बताए।
‘२०४६ सालको बहुदलीय व्यवस्था भएपछि मुलुकको विकास किन भएन? गर्ने खालको पार्टी सरकारमा भयो भने देशको विकास हुन्छ नत्र हुँदैन। एकदम सही हो त्यो। तपाईंहरु एकदम ढुक्क किन हुनुहुन्छ अहिले?’
उनले थपे, ‘यदी कांग्रेस र एमाले मिलेर बनेको सरकारले पनि मुलुकको विकास गर्न सकेन भने अनि विकल्प कहाँ रह्यो। त्यसपछिको निराशा भयानक हुन्छ।’
उनले वर्तमान सरकार २०८४ को निर्वाचनसम्मै जाने जिकिर गरे।
Shares

प्रतिक्रिया