नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले विकास पूर्वाधार र तीव्र आर्थिक विकासका लागि नीतिगत निरन्तरता हुनुपर्ने बताएका छन्।
पूर्वअर्थ र ऊर्जामन्त्रीसमेत रहेका पुनले राजनीतिक नेतृत्व फेरबदल हुँदैमा विकास र आर्थिक नीतिमा परिवर्तन हुन नहुने बताए। ‘हाम्रोजस्तो मिश्रित निर्वाचन प्रणाली भएको मुलुकमा सरकार फेरिरहन सक्छ’, आफै इन्चार्ज रहेको माओवादी केन्द्रको अर्थ तथा योजना विभागले आइतबार राजधानीमा गरेको कार्यक्रममा पुनले भने, ‘तर, नीतिगत निरन्तरता भयो भने रिजल्ट आउँछ।’
नीतिगत निरन्तरताकै कारण ऊर्जा र सिमेन्ट उद्योगमा नेपाल आत्मनिर्भर मात्र नभई क्षेत्रीय बजारमा समेत उपस्थिति जनाउन सफल भएको उदारहण प्रस्तुत गरे।
आफ्ना अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पहिलो पटक प्रधानमन्त्री भएका बेला ०६५ सालमा ऊर्जा क्षेत्रमा लगानीको श्रोत नखोज्ने, १० वर्षसम्म आयकरमा छुट दिने तथा पब्लिक, प्राइभेट, पार्टनरसिप (पीपीपी) मोडलमा आयोजना विकास गर्ने नीति ल्याएको र त्यही कारण लोडसेडिङ अन्त्य भएर भारत हुँदै बंगलादेशसम्म विद्युत निर्यात गर्ने वातावरण बनेको पुनले दाबी गरे।
उनले विकास आयोजनामा ढिलाई हुनुमा सरकारलाई मात्र दोष दिनु गलत हुने भन्दै संसद्, कर्मचारी तन्त्र, निर्माण व्यवसायी, नियामक निकाय, न्यायलय, सञ्चार माध्यम, विकास सम्वद्ध सरकारी एजेन्सी र आमजनता विकासमैत्री हुनुपर्नेमा जोड दिए।
फरक प्रसंगमा पुनले दुई ठूला छिमेकीले गरिरहेको विकासको लाभ नेपाललले लिन सक्नुपर्ने बताए। उत्तर छिमेकी चीनले तीव्र रुपमा आर्थिक विकास गरिरहेको र केही वर्षयता उत्तरलाई पछ्याइरहेको दक्षिण छिमेकी भारत विश्वकै तेस्रो ठूलो अर्ततन्त्र बन्न प्रयासरत रहेको भन्दै उनले त्यसबाट नेपालले फाइदा दिन सक्नुपर्ने बताए।
Shares

प्रतिक्रिया