नेकपा माओवादी निकट अखिल (क्रान्तिकारी)को निर्वाचनको विषयमा विवाद भएको छ।
जसले गर्दा उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुन सकेको छैन।
अध्यक्ष, उपाध्यक्ष, महासचिव लगायतमा उम्मेदवारी दिएका केही उम्मेदवारको नाम फिर्ता लिएको प्रचार भएपछि तफडा भएको हो।
अध्यक्षका उम्मेदवार सुदिन पौडेल, महासचिव उम्मेदवार पदम काफ्ले र महासचिव तिर्सना हमालको नाम फिर्ता लिएको प्रचार भएको थियो।
तर, नक्कली निवेदनका आधारमा आफ्नो उम्मेदवारी फिर्ता लिने कोसिस गरिएको अध्यक्षका उम्मेदवार पौडेलले बताए।
उनले उम्मेदवारी कायम रहेको बताएका छन्।
‘मैदानबाट डराएर केही साथीहरूले नक्कली हर्कत गर्दैछन्। मैले मेरो उम्मेदवारी कायम राखेको छु,’ उनले भने, ‘केही साथीहरूले नक्कली निवेदन लिएर गएर निर्वाचन (कार्यालय)मा बुझाएकोले निर्वाचन कार्यलयमा छु।’
यस्तै, हमालले आफ्नो उम्मेदवारी कायमै रहेको बताउँदै आक्रोश जनाएकी छन्।
‘संगठनको २२ वर्षे इतिहासमा पहिलोपटक मैले महासचिव आँटेको छु। तर, अहिले मेरो उम्मेदवार बन्न पाउने नैसर्गिक र वैधानिक अधिकारलाई खोस्न खोजिँदैछ,’ हमालले भनिन्, ‘आजसम्मको मेरो राजनीतिक जीवनमा कैयौं दुःख अप्ठ्याराहरू आए, त्यसबेला सहयोग खोज्दै नेताकहाँ पुग्न खोजेँ तर अहँ कहिले पनि सहयोग मिलेन। मलाई परेका बेला सधैं नेताहरूको दैलो बन्द भयो, सयचोटी फोन हान्दा पनि उठेन। तर, अहिले मेरो अधिकार छिन्न न्वारानदेखिको बल लगाएका छन्। मेरा आदरणीय नेताज्यूहरू बनाउन नलाग्नेलाई सिध्याउन नैतिक अधिकार हुँदैन।’
काफ्ले पनि मैदानमै रहेको बताउँछन्।
महासचिवमा उम्मेदवारी दिएका काफ्लेको नाम उपाध्यक्षमा राखिएपछि विवाद भएको छ।
निर्वाचन समितिले अहिलेसम्म उम्मेदवारका अन्तिम नामावली सार्वजनिक गर्न सकेको छैन।
माओवादी केन्द्रीय सदस्य रञ्जित तामाङ अखिल क्रान्तिकारीको निर्वाचन प्रक्रियामा पार्टी सत्ताको दुरुप्रयोग भएको बताउँछन्।
क्रान्तिकारीको नयाँ नेतृत्वको लागि भोलि माघ १२ गते मतदान हुने कार्यतालिका छ। तर, उम्मेदवारको अन्तिम नामावलीमै विवाद भएपछि चुनाव हुने÷नहुने अन्योलमा विद्यार्थी नेता छन्। यही ८ गते उम्मेदवारी दर्ता भएको थियो।
‘निर्वाचन प्रक्रियादेखि नै पार्टी सत्ताको दुरुपयोग गरेर विलम्ब गरिएको साथीहरुको गुनासो छ। भोलि निर्वाचन हुने कुनै ग्यारेन्टी छैन, तयारी छैन, कुनै कुरा टुंगिएको छैन’, क्रान्तिकारीका पूर्वअध्यक्ष तामाङले भने।
हेडक्वार्टरको हवाला दिँदै उम्मेदवारलाई नाम फिर्ता लिन समेत दबाब दिएको केही नेताको भनाइ छ।
‘देशभरका विद्यार्थी प्रतिनिधिलाई हामी हेडक्वाटरको मान्छे भन्दै फोन गरेर यसलाई मत हाल्ने भनेर आतङ्कित पारे’, असन्तुष्ट एक उम्मेदवारले नेपालखबरसँग भने, ‘यो त क्रान्तिकारीको होइन, पार्टीको मिनि महाधिवेशन जस्तो भयो। जुन कुरा गलत छ। विधानतः माओवादीले जबस मोर्चाहरूलाई वैचारिक आवद्धता, संगठनात्मक स्वायत्तता प्रदान गरेको छ।’
क्रान्तिकारीको अध्यक्ष पदमा विजयप्रकाश सापकोटा, हेमन्त राई, उपदेश यादव, सुदिन पौडेल, विश्वमणि थापा, योगेन्द्र बुढा प्रतिस्पर्धामा छन्।
यस्तै, सञ्जयकुमार महतो, तिर्सना हमाल, गोविन्द बानियाँ, श्याम रोका, रोशन थापामगर, सञ्जिव फुयाल, प्रतीक कार्की र पदम काफ्लेले महासचिवमा उम्मेदवारी दिएका छन्। माओवादीका नेताहरुको आफ्ना आफ्ना उम्मेदवार उठाएका छन्।
यसअघि क्रान्तिकारीले ३२ वर्षे उमेर हदमाथि निर्णय गर्न चुनाव गरेको थियो।
Shares

प्रतिक्रिया