राजनीति


लेनिनवादी संगठनात्मक प्रणालीलाई परित्याग गर्दै जाँदा समाजवादी व्यवस्थाको पतन भयो : मोहनविक्रम सिंह

लेनिनवादी संगठनात्मक प्रणालीलाई परित्याग गर्दै जाँदा समाजवादी व्यवस्थाको पतन भयो : मोहनविक्रम सिंह

नेपालखबर
माघ ११, २०८१ शुक्रबार १५:१३, काठमाडौँ

विश्व कम्युनिस्ट आन्दोलनका प्रसिद्ध नेता भ्लादिमिर लेनिनको स्मृतिको सय वर्ष नेपालमा विभिन्न कार्यक्रम गरेर मनाइएको छ।

‘लेनिन स्मृति शतवार्षिकी’ समितिले अघिल्लो वर्ष जनवरी २१ देखि सुरु गरेको अभियानको समापन शुक्रबार (माघ ११ गते) काठमाडौंमा गरेको छ।
 
समापन कार्यक्रमलाई नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह, प्रसिद्ध साहित्यकार नारायण ढकाल, शतवार्षिकी अभियानका संयोजक निनु चापागाईं, राष्ट्रिय क्रान्तिकारी मोर्चाका संयोजक लोकनारायण सुवेदी लगायतले सम्बोधन गरेका थिए।

कार्यक्रममा महामन्त्री सिंहले कम्युनिस्टहरू मार्क्सवाद–लेनिनवादको दर्शनबाट विचलित भएकाले समाजवादी व्यवस्था पतन भएको जिकिर गरे। उनले मार्क्सवादी दर्शन र लेनिनवादी संगठन प्रणालीका आधारमा संगठित भएर समाजवादी क्रान्ति भएको तर पछिल्लो समयमा कम्युनिस्टहरूले नै त्यसलाई बिर्सेको बताए।

‘मार्क्सवादी, लेनिनवादी दर्शनको पथ पदर्शन र लेनिनवादी संगठन प्रणालीको आधारमा संगठित सर्वहारा वर्गको पार्टी वा कम्युनिस्ट पार्टीको नेतृत्वमा नै रुसमा समाजवादी क्रान्ति भएको थियो र समाजवादी व्यवस्थाले विश्वव्यापी रुप लिएको थियो,’ सिंहले भने, ‘तर कम्युनिस्टहरू मार्क्सवादी, लेनिनवादी दर्शनबाट विचलित हुँदै जानु तथा उनीहरुले लेनिनवादी संगठनात्मक प्रणालीलाई परित्याग गर्दै जानुको नै परिणाम हो कि सोभियत संघ, चीन सहित विश्व समाजवादी व्यवस्थाको पतन भयो र विश्व कम्युनिस्ट आन्दोलन अत्यन्त कमजोर र रक्षात्मक अवस्थामा पुग्यो।’

सिंहले यही कारण देखाएर कम्युनिस्टहरु समाजवादी क्रान्तिको विश्वव्यापी सफलताबारे निराश हुनु पर्ने आवश्यकता नभएको पनि औंल्याए।

कार्यक्रममा ‘लेनिन र साहित्य’ विषयमा साहित्यकार नारायण ढकालले आफ्ना विचारहरू राखेका थिए भने लेनिनवादको सान्दर्भिकताबारे लोकनारायण सुवेदीले बोलेका थिए।

‘सुसेला’ सङ्गीत समूहले कम्युनिस्ट अन्तर्राष्ट्रिय र लेनिनको सम्झनामा तीन वटा अलग–अलग गीतहरू पनि कार्यक्रममा प्रस्तुत गरेको थियो।

लेनिन स्मृति शतवार्षिकी समितिका संयोजक तथा प्रसिद्ध मार्क्सवादी समालोचक एवम् सौन्दर्यचिन्तक निनु चापागाईंले समितिले एक वर्षभरि विभिन्न सहरमा झण्डै एक दर्जन कार्यक्रमहरू गरेको र आगामी अप्रिल २२ सम्म थप कार्यक्रमहरू गर्ने जानाकारी दिए। उनले अप्रिल २२ मा पर्ने लेनिन दिवसका दिन सांस्कृतिक कार्यक्रम आयोजना गर्ने तयारी रहेको बताए।

रुसमा प्रथम समाजवादी व्यवस्था स्थापना गरेका नेता लेनिनको स्मृतिको शताब्दी वर्षको कार्यक्रम नेपालमा यसपटक कुनै पनि ठूला वामपन्थी पार्टीहरूले भने गरेनन्। यसअघि अक्टुबर क्रान्तिको शतवार्षिकी पनि स्वनाम साथीको संयोजकत्वमा एक समितिले आयोजना गरेको थियो।

‘लेनिन स्मृति शतवार्षिकी’ले भने गएको एक वर्ष शतवार्षिकी अभियान सञ्चालन गरेको थियो।

त्यसअनुसार समितिले गत वैशाख १० र ११ गते (२२ र २३ अप्रिल) चीन, भारत, बङ्गलादेश र नेपालबाट आठवटा कार्यपत्रसहित नेपालमा पहिलोपटक ‘अन्तर्राष्ट्रिय लेनिन सेमिनार’ पनि सम्पन्न गरिसकेको छ।

त्यस्तै, काठमाडौं र उपत्यकाबाहिर विभिन्न सहरमा विचार–गोष्ठीहरु, लेनिन काव्योत्सव कार्यक्रम, अक्टुबर क्रान्ति दिवस विशेष कार्यक्रम, आठ मार्च र महिला मुक्तिसम्बन्धी कार्यक्रम लगायत सार्वजनिक कार्यक्रमहरु सम्पन्न भइसकेका छन्।

समितिले आगामी अप्रिल २२ मा पर्ने लेनिन दिवसमा साङ्गीतिक कार्यक्रम र लेनिनका केही कालजयी रचनाहरुको अनुवाद तथा पुनःप्रकाशन गर्ने जनाएको छ। त्यस्तै, लेनिन स्मृति शतवार्षिकी स्मारिका प्रकाशन गर्ने योजना पनि रहेको समितिका सदस्य तुल्सीदास महर्जनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad