ad ad

राजनीति


कैलाली सिमानाकामा आवागमन रोक

कैलाली सिमानाकामा आवागमन रोक

नेपालखबर
चैत ७, २०७६ शुक्रबार १५:१८,

कोरोना भाइरसको संक्रमण फैलिन नदिन पूर्व तयारीस्वरुप भारतसँग सीमा जोडिएको कैलालीका विभिन्न नाकाबाट आवागमनमा रोक लगाइएको छ।

भारतसँग सीमा जोडिएको जिल्लाका मुख्य नाकाबाहेक अधिकांश नाकाबाट आवागमनमा रोक लगाइएको हो। मुख्य नाका भएर भित्रिनेलाई भने सहायता कक्ष ‘हेल्थ डेस्क’मा स्वास्थ्य परीक्षण गराएरमात्र गन्तव्यमा जान दिइएको छ।

हेल्थ डेस्कको व्यवस्था नगरिएका सीमा नाकामा मानिसको आवागमनमा रोक लगाएको इलाका प्रहरी कार्यालय भजनीका प्रहरी निरीक्षक जनक धामीले बताए। ‘लुकिछिपी रुपमा भित्रिनेबाहेक नाकामा सर्वसाधारणको आवागमनमा रोक लगाएको छ’, प्रहरी निरीक्षक धामीले भने, ‘आवागमनका लागि खुला गरिएको भजनी नगरपालिकाको दक्षिण सीमामा रहेका मुख्य गुलरिया र मौरियाघाट नाकाबाट भित्रिनेलाई स्वास्थ्य परीक्षण गरेरमात्र गन्तव्यमा जान दिइएको छ।’

कोरोना भाइरसको रोकथामको प्रयासस्वरुप सीमा क्षेत्रको मोहना नदीमा सञ्चालनमा रहेको डुङ्गासमेत बन्द गरिएको छ। भजनी क्षेत्रको जसबहादुर घाटका साथै कौवाखेडा, हलौना, हिम्मतपुर, सोनाफाँटा र जनकपुरलगायत सीमा नाका र धनगढी नजीकै रहेको फूलबारी क्षेत्रको बहुलिया, खेदा र ए गाउँलगायत नाकामा पनि आवागमनमा रोक लगाइएको छ।

यी नाकामा अहिलेसम्म हेल्थ डेस्कको व्यवस्था हुनसकेको छैन। फूलबारी नाकामा हेल्थ डेस्क सञ्चालनका लागि आवश्यक उपकरणसहितको स्वास्थ्यकर्मीको टोली माग गरिएको फूलबारी प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक जंगबहादुर सिंहले जानकारी दिए।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले हेल्थ डेस्क सञ्चालन नभएका सीमानाकामा आवागमनमा रोक्न प्रहरी गस्ती परिचालन गरिएको बताए। जिल्लाको मुख्य धनगढीको त्रिनगर सीमा नाका र टीकापुरको खक्रौला सीमा नाकाबाट नागरिकको आवागमन बढी सङ्ख्यामा हुने गरेको छ। यी दुवै नाकामा सञ्चालनमा रहेको हेल्थ डेस्कमार्फत आवागमन गर्नेको स्वास्थ्य परीक्षण भइरहेको छ।

भारतमा कोरोनाको सङ्क्रमित बिरामी फेला परेको पुष्टि भएसँगै त्यहाँका विभिन्न शहरमा रहेका नेपाली फर्किने क्रम पनि पछिल्ला दिनमा बढेको छ। बिहीबार मात्रै त्रिनगर नाका र खक्रौला नाकामार्फत एक हजार ५७५ नागरिक भित्रिएको बताइएको छ। भारतको उत्तर प्रदेशसँग कैलालीको झण्डै १०१ किलोमिटर लामो भाग जोडिएर रहेको छ।

सीमा पारी भारतको उत्तर प्रदेशमा कोरोनाका सङ्क्रमित बिरामी फेला परेको अवस्थामा भारतसँग सीमा जोडिएको कैलालीका सीमा नाकाबाट भित्रिने नागरिकको निगरानीमा थप कडाइ गर्न नसकिएमा रोगको सङ्क्रमण पनि भित्रिन सक्ने जोखिम छ।

पश्चिमबाट पूर्वतर्फ बग्ने सीमा क्षेत्रको मोहना नदीका कारण सबै ठाउँबाट सीमा पार गर्न भने त्यति सहज छैन। तर आवागमनमा रोक लगाइएको भनिएका साना नाकामार्फत लुकिछिपीरुपमा नेपाल भित्रिनेबाट रोगको सङ्क्रमण फैलिनसक्ने जोखिम देखिन्छ। यसका लागि नेपाल भित्रिनेको निगरानीमा कडाइ गर्दै सबै नाकामा हेल्थ डेस्कको व्यवस्था गर्नु जरुरी देखिएको छ।

यसैबीच जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गरी कोरोनाको सङ्क्रमणबाट जोगिनका लागि सचेतना अपनाउन, भीडभाडमा नजान, भेला, सभा, सम्मेलनजस्ता कार्यक्रम नगर्न सबैमा आग्रह गरेको छ। कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बिहीबार बसेको कार्यालयका प्रमुखको बैठकमा प्रत्येक कार्यालयमा कर्मचारीलाई हात धुने व्यवस्था मिलाउने, सेवाग्राहीको भीड रहने कार्यालयमा बढी भीड नहुने गरी सेवाग्राहीलाई सेवा प्रवाह गर्नेलगायत निर्णय भएको जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .