राजनीति


क्रान्तिकारीको अध्यक्षका दाबेदारलाई प्रचण्डले खुमलटार बोलाए, अझै भएन उम्मेदवारी दर्ता

क्रान्तिकारीको अध्यक्षका दाबेदारलाई प्रचण्डले खुमलटार बोलाए, अझै भएन उम्मेदवारी दर्ता

नेपालखबर
माघ ८, २०८१ मंगलबार १६:१२, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अखिल क्रान्तिकारीको अध्यक्ष दाबेदारसँग छुट्टाछुट्टै भेट गरेका छन्।

उम्मेदवारी मनोनयन जारी रहेकै बेला प्रचण्डले अध्यक्षमा दाबेदारी गरिरहेका, विजयप्रकाश शर्मा सापकोटा, हेमन्त राई, सुदिन पौडेल, विराज थापा, गोविन्द बानियाँलाई खुमलटार बोलाएर छलफल गरेका हुन्। 

प्रचण्डले भेट गरेपछि अहिलेसम्म अध्यक्षमा कसैले पनि उम्मेदवारी मनोनयन गर्न सकेका छैनन्। ‘अहिलेसम्म अध्यक्ष र महासचिवमा कसैको पनि उम्मेदवारी परेको छैन,’ अखिल क्रान्तिकारीका निवर्तमान उपाध्यक्ष एवं कार्यलय प्रमुख केशव रावलले भने, ‘साँझ ६ बजेसम्म समय भने बाँकी छ।’

प्रचण्डले उम्मेदवारीका विषयमा साँझसम्म एउटा निष्कर्षमा पुगेपछि खबर आउने सन्देश दिएकाले पार्टीको निर्देशनको पखाईमा रहेको एक विद्यार्थी नेताले बताए। मनोनयनका लागि आज साँझ ६ बजेसम्मको समय दिइएको छ।

‘अध्यक्षले बोलाउनुभयो, हामीसँग पनि छुट्टाछुट्टै भेट्नुभयो,’ ती नेताले भने, ‘त्यही भएर अहिलेसम्म उम्मेदवारी मनोनयन गर्न पाएका छैनौँ। हामी त फोनको पर्खाइमा छौँ।’

भेटमा प्रचण्डले कसैलाई पनि सहयोगको आश्वासन नदिएको अध्यक्षका दाबेदार सुदिन पौडेलले बताए। ‘अध्यक्ष प्रचण्डले हामी प्रत्यासी सबैलाई बोलाउनुभएको हो,’ पौडेलले प्रचण्डको भनाई उधृत गर्दै भने, ‘उमेर हद लगाएपछि तपाईँहरुलाई नेता बन्ने अवसर आएको छ।’ आफू उम्मेदवारी मनोनयनको कागजपत्र मिलाइरहेको उनले बताए।

राईलाई माओवादीका उपमहासचिव जनार्दन शर्माले समर्थन गरेका छन्। यस्तै, पौडेललाई अर्का उपमहासचिव वर्षमान पुनको समर्थन छ।

उमेर हदका कारण नेतृत्वबाट बाहिरिएका कतिपय नेताले सापकोटालाई समर्थन गरेका छन्। सापकोटालाई प्रचण्डकै समर्थन दिलाउन भरमग्दुर प्रयास गरिरहेका छन्। 

प्रचण्डले एक्लाएक्लै भेटेपछि क्रान्तिकारीको नयाँ नेतृत्व सहमतिमा गर्ने कोसिस भइरहेको नेताहरु बताउँछन्। ‘उहाँको जोड सहमति जुटाउने हुनसक्छ तर, साथीहरु उम्मेदवारी दिनुहुन्छ,’ एक नेताले नेपालखबरसँग भने। 

अध्यक्ष प्रचण्डले दुबै उपमहासचिवलाई पनि सकभर सहमति गरेर जान सुझाव दिएका थिए।

यसैबीच विद्यार्थी संगठनको चुनाव लगायतका विषयमा छलफल गर्न माओवादी केन्द्रको पदाधिकारी बैठक प्रचण्ड निवास खुमलटारमा जारी छ। 

बैठकले यसबारे ठोस निर्णय लिने  विद्यार्थी नेताहरुले बताएका छन्। 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad