नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले ल्याउँदै गरेको कृषि विधेयकमा कृषिको जैविक विविधताको विषयलाई महत्वका साथ उठाउनुपर्ने बताएका छन्।
सोमबार काठमाडौँमा तेस्रो राष्ट्रिय जैविक विविधता सप्ताह-२०८१ को समापन समारोहलाई सम्बोधन गर्दै उनले सरकारले अहिले कृषि विधेयक ल्याउन लागेको र कृषिको जैविक विविधताको विषय ऐनमा समेट्ने कुरा अहिले मौकाको रुपमा रहेको उल्लेख गरे।
कृषि विधेयकमा अहिले मन्त्रालयले काम गरिरहेको उल्लेख गर्दै उनले माघको २० गतेसम्म संसद्मा दर्ता गर्ने तयारी गरिएको बताए। ‘एउटा मौका अहिले आएको छ,’ थापाले भने, ‘अहिले कृषि मन्त्रालयले कृषि विधेयकमा काम गरिरहेको छ। कृषि विधेयक २० गतेभित्रमा संसद्मा दर्ता गर्ने भन्ने मन्त्रालयको तयारी छ। अहिलेसम्म कृषिअन्तर्गत हामीले दर्जनौँ कानुनहरु बनाएपनि यसको मुल कानुन हामीले अहिलेसम्म बनाएनौँ। जसको कारणले गर्दा नेपालको कृषि क्षेत्र कस्तो हुने भन्ने सन्दर्भमा जुन गति समात्नुपर्ने थियो, जुन लय हामीले समात्नुपर्ने थियो, त्यो ठाउँमा हाम्रा केही ग्यापहरु छन्।’
उनले थपे, ‘कृषि मन्त्रालयले बनाउँदै गरेको कृषि विधेयक हाम्रो लागि एउटा महत्वपूर्ण दस्तबेज बन्नसक्छ। खासगरी रैथाने बीउबिजन, उत्पादन यो सबै जैविक विविधताको संरक्षणसँग जोडिन्छ। कृषि जैविक विविधताको संरक्षण हाम्रो कृषिको मुल आधार बन्छ की बन्दैन भन्नेकुरा यो कानुनले टुंग्याउँछ। यो पटक सरकारले ल्याउने जुन कानुन छ, त्यो कानुनमा कृषिको जैविक विविधताको विषय नेपालको कृषि क्षेत्रको मुल विषय हो भन्नेकुरा पार्न सक्नुपर्छ।’
Shares

प्रतिक्रिया