नेपाल कम्युनिस्ट पार्टी राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले आफू नेकपा एमालेमा जान तयार भएको बताउनासाथ बहुमत केन्द्रीय सदस्य उनीबाट अलग भएका छन्।
एमालेका पूर्वउपाध्यक्षसमेत रहेका राष्ट्रिय सभा सदस्य गौतमले आइतबार नेपालखबरसँगको कुराकानीमा एमालेमा जाने तय भइसकेको तर कुन पद लिएर कहिले जाने भन्ने विषय भने निश्चित हुन बाँकी रहेको बताएका थिए।
यसपछि गौतम नेतृत्वको राष्ट्रिय अभियानका उपाध्यक्ष महेन्द्र अर्यालको नेतृत्वमा बहुमत केन्द्रीय सदस्यले आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी उक्त अभियान त्यागेको घोषणा गरेका हुन्।
अर्याल नेकपा एकता राष्ट्रिय अभियानमा लुम्बिनी प्रदेश इन्चार्ज पनि हुन्। उनीसँगै अभियानका कर्णाली प्रदेश इन्चार्ज डिल्लीराज भट्टराई, कोसी प्रदेश इन्चार्ज इन्द्र सुब्बा र मधेस प्रदेश इन्चार्ज हरि काफ्लेले वामदेवबाट छुट्टिँदै नयाँ यात्राको घोषणा गरेका हुन्।
योसँगै उनीहरूले विचार मिल्ने नेकपा माओवादी केन्द्रलगायत वामपन्थी दलसँग वार्ता गर्ने निर्णय गरेका छन्। त्यसका लागि उनीहरूले अर्यालको संयोजकत्वमा ४ सदस्यीय वार्ता समितिसमेत गठन गरेका छन्। समितिमा काफ्ले, सुब्बा र भट्टराई सदस्य छन्।
यसअघि वामदेवले पुस १७ गते नेकपा एकीकृत समाजवादीसँग एकताको समझदारी गरेका थिए। यसका लागि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग सैद्धान्तिक सहमति भइसकेको समेत बताएका थिए।
तर अहिले एकाएक वामदेवले एमालेमा मिल्ने घोषणा गरेका हुन्।
Shares

प्रतिक्रिया