राजनीति


कांग्रेसले तोक्यो प्रकाशशरण महतलाई अर्थ समिति संयोजक (१० निर्णयसहित)

कांग्रेसले तोक्यो प्रकाशशरण महतलाई अर्थ समिति संयोजक (१० निर्णयसहित)

फाइल तस्बिर


नेपालखबर
माघ ३, २०८१ बिहिबार २०:६, काठमाडौँ

सत्तारुढ नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठकले विभिन्न १० निर्णय गरेको छ।

कांग्रेसबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुसहित बिहीबार कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा बसेको बैठकले ती निर्णय गरेको हो।

यस्ता छन् निर्णयः
१.सरकारलाई प्रभावकारी र सफल बनाउन सक्रिय ढंगले कार्य गर्न महत्वपूर्ण बिषयहरुमा नियमित छलफल गर्न सरकारमा सहभागी मन्त्रीहरुलाई संसदीय दल कार्यसमितिको बैठक निर्देशन गर्दछ। 

२.संसद्का विषयगत समितिहरुमा विचाराधीन विधेयकहरुलाई टुंगोमा पुर्‍याउन सक्रियता साथ कार्य गर्न नेपाली कांग्रेस सम्बद्ध तत समितिका सभापति सहितका माननीयहरुलाई यो बैठक निर्देशन गर्दछ। 

३.नेपाली कांग्रेसका माननीय मन्त्रीहरुलाई आ–आफ्नो मन्त्रालयको कार्यक्षेत्रमा रहेका विगतदेखिका भौतिक परियोजना र अन्य कार्यक्रम समयमा सम्पन्न गर्न यो बैठक निर्देशन गर्दछ। 

४. चालु आर्थिक बर्षको बजेट तथा बार्षिक विकास कार्यक्रममा समावेश भएका तर स्रोत सुनिश्चितताको पर्खाइमा रहेका, टेन्डर हुन नसकेका, निर्माण सुरु भएका तर अपेक्षित गतिमा काम नभईरहेका विकास योजनाहरु निर्धारित समयमा सम्पन्न गर्न गराउन आवश्यक पहलकदमीका लागि सम्बन्धित माननीय मन्त्रीहरुलाई यो बैठक निर्देशन गर्दछ। 

५.नेपाली कांग्रेसका माननीय मन्त्रीहरुलाई हप्तामा २ निश्चित दिन खुल्ला भेटघाट गर्ने, नागरिकको गुनासो सुन्ने, सुझाव लिने र बाँकी ५ दिन सम्पूर्णरुपले आ–आफ्नो मन्त्रालयको काममा केन्द्रित हुन यो बैठक निर्देशन गर्दछ। 

६.सांसदहरुको सल्लाह, सुझाव र जनताका अपेक्षालाई विशेष ध्यानमा राखी कामकारबाही अगाडि बढाउनका लागि संसदीय दल कार्यसमिति र मन्त्रीहरुले माननीय सदस्यहरुसँग समन्वय गर्ने निर्णय गर्दछ। 

७.पार्टीको प्रदेश समिति, जिल्ला, क्षेत्र एवं स्थानीय तहहरुमार्फत पार्टी केन्द्रीय कार्यालयमा आउने गरेका नागरिकका सुझाव र मागहरूका सम्बन्धमा महिनामा १ पटक पार्टी केन्द्रीय कार्यालयमा फरक दिनमा फरक मन्त्री उपस्थित भएर छलफल गर्ने र उपयुक्त सुझावहरु कार्यान्वयन गर्न यो बैठक निर्देशन गर्दछ।  

८.नेपाली कांग्रेस संसदीय दलको विधानको धारा २० बमोजिम अनुशासन समिति गठनका लगि प्रतिनिधिसभा सदस्य माननीय दिलेन्द्रप्रसाद वडूलाई  संयोजक चयन गर्ने निर्णय गर्दछ।
 
९.२०८१ माघ २ गते आफ्नो व्यवसायिक कार्य सकेर बाहिर निस्कने क्रममा अवान्छित व्यक्तिहरुले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि गरेको सांघातिक आक्रमणको घोर निन्दा गर्दै दोषी उपर कडाभन्दा कडा कारबाही गर्न सरकारसँग यो बैठक आग्रह गर्दछ। 

१०.प्रतिनिधिसभा अन्तर्गतका अर्थ समितिका लागि माननीय डा.प्रकाशशरण महत, सार्वजनिक लेखा समितिका लागि माननीय संजयकुमार गौतम र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका लागि माननीय चन्दा चौधरी संयोजक चयन हुनु भएको निर्णयलाई यो बैठक अनुमोदन गर्दछ।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad