नेकपा माओवादी केन्द्रका सांसद श्रीकृष्ण अधिकारीले नेपालको स्वास्थ्य क्षेत्रमा बजारीकरण मौलाएको बताएका छन्।
सोमबार राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति बैठमा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले सरकारी अस्पतालहरूमा व्यापारीकरण बढेको कारण नागरिकले सहज स्वास्थ्य सेवा प्राप्त गर्न नसकेको गुनासो गरे। उनले सरकारी अस्पतालहरूका आपतकालीन केन्द्रहरूको अनुगमन गर्न समिति सभापति समक्ष माग राखे।
सांसद अधिकारीले सरकारी अस्पतालका इमरजेन्सीहरूमा चिकित्सकको लापरबाहीका कारण गुण्स्तरीय उपचार सेवा प्रवाह हुन नसकेको बताए।
उनले भने, ‘स्वास्थ्यको क्षेत्रमा अत्यन्तै बजारीकरण र व्यापारीकरण छ कि त्यो सरकार अस्पतालहरुमै देखिन्छ। अब हामीले एक पटक सरकारी अस्पतालहरुको आपत्कालीन केन्द्रहरुमा अनुगमन गर्नुपर्ने आवश्यकता मैले देखेको छु। त्यहाँ सेवा लिन जाने बिरामीहरुले पाएको दुःख अत्यन्त छ। न त्यहाँ गुणस्तर छ न त सहज उपचार हुन्छ। बिरामी एकदम सिकिस्त भएपछि इमरजेन्सीमा पुग्छ तर त्यहाँ डाक्टर पनि हुँदैन, गुणस्तरीय उपचार पनि हुँदैन। त्यसकारण सरकारी अस्पतालका इमरजेन्सीहरूलाई सुधार गर्न अत्यन्त जरुरी छ।’
सांसद अधिकारीले स्वास्थ्य सेवा समाजवादउन्मुख हुन नसकेको बताए। उनले संविधानले स्वास्थ्य सेवा नागरिकको मौलिक हकको रुपमा व्यवस्था गरिएको उल्लेख गर्दै यसमा हाम्रो नीति के हो? भन्दै प्रश्न गरे।
उनले अझैपनि दुर्गम भेगमा आधारभूत स्वास्थ्य सेवा पुग्न नसकेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराए।
नेकपा एमालेकी सांसद सुमित्रा बिसीले सिंहदरबार वैद्यखानाको कर्मचारीहरू लामो समयदेखि करारमा काम गरिरहेको उल्लेख गर्दै स्थायी बनाउन माग गरिन्। उनले वैद्यखानाका कर्मचारीहरूले जीवनको उर्वर समय त्यहीँ खर्च गरकोले स्वास्थ्य मन्त्रालयले यस विषयमा गम्भीर हुनुपर्ने बताइन्। उनले देशभित्रका सम्पूर्ण उद्योगहरू कच्चा पदार्थको अभावमा जर्जर भएको बताइन्।
उपलब्ध जडिबुटीको सदुपयोग गर्दै स्वदेशमै औषधि उत्पादन गर्नतर्फ ध्यान दिन जरुरी रहेको उनको भनाई थियो।
बैठकमा अधिकांश सांसदहरूले स्वास्थ्य क्षेत्रमा रहेका बेथितिहरूको अन्त्य गर्न जरुरी रहेको धारणा राखे। बैठकमा आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग छलफल गरिएको छ।
Shares

प्रतिक्रिया