राजनीति


भिडिओ भाइरल भएपछि कांग्रेस उपसभापति गुरुङले भनेः पतित राजनीतिभन्दा माथि उठौँ

भिडिओ भाइरल भएपछि कांग्रेस उपसभापति गुरुङले भनेः पतित राजनीतिभन्दा माथि उठौँ

फाइल तस्बिर: कांग्रेस उपसभापति धनराज गुरुङ र प्रधानमन्त्री केपी शर्मा ओली


नेपालखबर
पुस २५, २०८१ बिहिबार ११:४१, काठमाडौँ

अहिले सामाजिक सञ्जालमा सत्तामै रहेको दल नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीको कडा आलोचना गरिरहेको भिडिओ क्लिप्स भाइरल भइरहेको छ। 

जहाँ गुरुङले ओलीलाई भ्रष्टाचारीको आरोप लगाउँदै अभद्र शब्दमा उछितो काढिरहेका छन्। 

भिडिओमा उनी भनिरहेका छन्, ‘केपी ओलीहरू अहिले सिंहदरबारमा बसेर नेपाली जनतालाई लुटिरहेका छन्। नेपाली जनता भनिरहेका छन्। केपी शर्मा ओलीजी, यो मैले कुनै मिथ्या कुरा गरिरहेको छैन, वाइडबडी काण्ड के हो? त्यो लुटेको हो कि होइन? बूढीगण्डकी काण्ड के हो? लुटेको हो कि होइन? त्यस्तै गरेर ओम्नी काण्ड के हो? मेलम्ची काण्ड के हो? आज भ्रष्टाचारका काण्डैकाण्ड घटेर, घटाएर, गरिब व्यापारीले तिरेको करबाट, राज्यको ढुकुटीबाट ब्रह्मलुट गरिरहेको देखिन्छ। ...केपी शर्मा ओलीजी सिंहदरबारमा बसेर खाने मात्र होइन, घिचिरहनुभएको छ।...सिंहदरबारमा कम्युनिस्टको बर्को ओढेर केपी शर्मा ओलीहरूले यो मुलुकमा निर्मला हत्याकाण्डका हत्याराहरूलाई लुकाएर, संरक्षण दिएर अझै अर्काे अपराध गरिरहेका छन्। सिंहदरबारमा बसेर अपराध गर्न पाइँदैन।...’

उक्त भिडिओ भाइरल भएपछि कांग्रेस उपसभापति गुरुङले आफ्नो उक्त अभिव्यक्ति झण्डै ६ वर्षअघिको भएको स्पष्टीकरण दिएका छन्।

साथै उनले ‘पतित राजनीतिभन्दा माथि उठ्न’ सुझाव पनि दिएका छन्। 

‘पतित राजनीतिभन्दा माथि उठ्ने कि! झण्डै ६ वर्ष पहिले तत्कालीन नेकपाको सरकारविरुद्ध तत्कालीन प्रतिपक्ष नेका (नेपाली कांग्रेस) ले गरेको आन्दोलनको मेरो भाषणको भिडिओ क्लिप हाल सामाजिक सञ्जालमा प्रचार गरेर प्रोभोक गर्ने कार्य खेदजनक छ’, गुरुङले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘वैचारिक रूपमा प्रतिस्पर्धा गरौँ। पतित राजनीतिभन्दा माथि उठौँ।’

यसबीच कांग्रेस उपसभापति गुरुङलाई ललितपुरको मितेरी सहकारी ठगी अभियोग पनि लागेको छ। सो प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गुरुङसँग पुस २३ गते दोस्रो चरणको बयान लिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad