प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले इजरायलले गाजा क्षेत्रमा नरसंहार गरिरहेको भन्दै त्यसको भर्त्सना गरेको छ। तीन दिनसम्म चलेर मंगलबार सकिएको केन्द्रीय समिति बैठकबाट विशेष प्रस्ताव पारित गर्दै माओवादी केन्द्रले संयुक्त राष्ट्रसंघको ‘दुई राज्य समाधान’को प्रस्तावलाई समर्थन गरेको छ।
‘प्यालेस्टेनी जनताको आत्मनिर्णयको अधिकार सहितको स्वतन्त्र एवम सार्वभौम राज्यको मागलाई उचित ठहर गर्दछ र संयुक्त राष्ट्रसंघको ‘दुई राज्य समाधान’को प्रस्तावलाई समर्थन गर्दछ,’ माओवादीले पारित गरेको प्रस्तावमा भनिएको छ, ‘इजरायलबाट गाजा क्षेत्रमा भइरहेको नरसंहारको भर्त्सना गर्दै पश्चिम एशिया र मध्यपूर्व लगायत विभिन्न क्षेत्रमा बढ्दै गैरहेको तनावप्रति गहिरो चिन्ता व्यक्त गर्दछ।’
साथै उक्त प्रस्तावमा हमासको कब्जामा रहेका नेपालका विपिन जोशीको रिहाईका लागि कूटनीतिक पहल बढाउन सरकारको ध्यानाकर्षण गराएको छ। भनिएको छ, ‘वार्ताद्वारा शान्तिपूर्ण ढंगले समस्या समाधानको लागि सम्बद्ध सबै पक्षलाई आह्वान गर्दै हमास समूहले कब्जामा लिएका विपिन जोशीको रिहाई एवं मध्यपूर्व लगायतका ठाउमा रहेका लाखौ नेपालीहरुको सुरक्षाको सुनिश्चितताका लागि थप कूटनीतिक पहल बढाउन सरकारको गम्भीर ध्यानाकर्षण गर्दछ।’
Shares

प्रतिक्रिया