राजनीति


गगनको दाबी– संघीयतामा जानुपर्छ भन्ने लेख्ने पहिलो दल कांग्रेस हो

गगनको दाबी– संघीयतामा जानुपर्छ भन्ने लेख्ने पहिलो दल कांग्रेस हो

नेपालखबर
पुस २३, २०८१ मंगलबार १६:३९, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेस नै नेपालमा पहिलोपल्ट संघीयतामा जानुपर्छ भन्ने शब्द लेख्ने दल भएको दाबी गरेका छन्। मंगलबार ललितपुरमा संघीयता सबलीकरणको कसीमा प्रदेशका सवालहरु विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपाली कांग्रेसले कसैले बोकाइदिएको संघीयताको भारी नबोकेको बताए।

‘हाम्रो पार्टीको केन्द्रीय समितिको केही समयअघिको बैठकमा पार्टीका एकजना साथीले संघीयताका सन्दर्भमा आफ्नो धारणा राख्ने क्रममा नेपाली कांग्रेस पार्टी संघीयताको विषयमा कहिले पनि जाडिएको थिएन, त्यसैले यो कसैले बोकाइदिएको भारी भन्ने एउटा सन्दर्भ उल्लेख गर्नु भएको थियो,’ थापाले भने, ‘र, मैले उहाँलाई केही पुराना कुरा स्मरण गराएको थिएँ। नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाले त्यो बेलामा दलहरुको संयुक्त नेतृत्व गर्नुहुन्थ्यो। ५दलको संयुक्त बैठकले १८ बुँदे आफ्नो धारणा सार्वजनिक गरेको थियो। र, प्रदेश भन्ने शब्द पहिलोपटक त्यहाँ प्रयोग भएको हो।’

उनले तत्कालीन राजाले अधिकार आफ्नो हातमा लिएपछि आफूहरुले लोकतन्त्रको कुरा गरेको र त्यसमा पनि संघीयताको कुरा भएको जिकिर गरे। ‘तत्कालीन राजाले अधिकार आफ्नो हातमा लिइसक्नुभए पछाडि हामीले खाली हामी पुनारो संविधान, व्यवस्था मात्रै पुर्नस्थापित गर्दैनौं, नयाँ अवधारणा पनि अगाडि सार्‍यौं, त्यसलाई हामीले लोकतन्त्र भन्यौं,’ थापाले भने, ‘उनले त्यसका थुप्रै कुराहरुमध्य एउटा कुरा सेन्टरमा मात्रै अधिकार रहँदैन। बीचमा एउटा प्रदेश रहन्छ र त्यसलाई हामी अधिकारसम्पन्न बनाउँछौं भन्ने कुरा पहिलोपटक त्यहाँ प्रयोग भयो। मैले त्यो स्मरण गराउनुपर्‍यो।’

अहिलेको कांग्रेस पार्टी सभापतिको तत्कालीन दल नेपाली कांग्रेस (प्रजातान्त्रिक)ले महाधिवेशनबाटै पहिलोपल्ट संघीयतामा जानुपर्ने कुरा गरेको समेत उनले उल्लेख गरे। थापाले भने, ‘अहिलेको हाम्रो पार्टी सभापति माननीय शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस प्रजातान्त्रिकले आफ्नो अधिवेशनबाट नेपाललाई संघीयतामा लिएर जानुपर्छ भन्ने शब्द प्रयोग गर्ने पहिलो दल हो।’

त्यतिबेला मधेसवादी दलको जन्म नै नभएको र माओवादीले भनेको संघीयताको मोडेल भने फरक रहेको उनको धारणा छ। ‘त्यतिबेला मधेसकेन्द्रित दल भन्ने जन्मेकै थिएन,’ थापाको तर्क छ, ‘र, नेकपा माओवादीको कुनै पनि दस्तावेजमा त्यसलाई संघीयता भनिएको थिएन। त्यसको आफ्नो मोडल थियो–जातीय आत्मनिर्णयको अधिकारसहितको स्वायत्त प्रान्त। त्यो छुट्टै मोडलको कुरा भयो।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad