ग्लोबल


मलेसिया र सिंगापुरबीच जोहोरमा सेन्चेनभन्दा दोब्बर ठूलो आर्थिक क्षेत्र बनाउने सम्झौता

मलेसिया र सिंगापुरबीच जोहोरमा सेन्चेनभन्दा दोब्बर ठूलो आर्थिक क्षेत्र बनाउने सम्झौता

नेपालखबर
पुस २३, २०८१ मंगलबार १६:४७,

मलेसिया र सिंगापुरका नेताहरूले दुई मुलुकको सीमा क्षेत्रमा विशाल विशेष आर्थिक क्षेत्र बनाउने सम्झौता गरेका छन्। स्थापनाको पहिलो पाँच वर्षमै सो विशेष आर्थिक क्षेत्रमा ५० परियोजना सञ्चालन गर्ने उनीहरूको लक्ष्य छ।

मलेसियाली प्रधानमन्त्री अनवर इब्राहिम र सिंगापुरका प्रधानमन्त्री लरेन्स वङले मंगलबार मलेसियाको दक्षिणी राज्य जोहोरमा विशेष आर्थिक क्षेत्र स्थापनाको सम्झौतामा हस्ताक्षर गरे।।

गत महिना नै तयारी भएको हस्ताक्षर समारोङ वङलाई कोरोना भएपछि रोकिएको थियो। 

दुई मुलुकले दस वर्षभित्रै १०० वटा परियोजना सञ्चालनलाई सहजीकरण गर्ने वाचा गरेका छन्। लगानी गर्नेहरूका लागि लागि कर्पोरेट तथा आयकरमा खास छुट दिइने छ। 

जोहोरका अधिकारीहरूले यो विशेष आर्थिक क्षेत्रले सन् २०३० सम्ममा एक लाख नयाँ रोजगारी र मलेसियाको अर्थतन्त्रमा वार्षिक २६ अर्ब डलर थप्ने अपेक्षा रहेको बताएका छन्। त्यसमध्ये धेरैजसो हिस्सा नयाँ लगानी र सिंगापुरमा रहेका कम्पनीहरूको विस्तार र स्थानान्तरणबाट आउनेछ। 

३५ सय वर्गकिलोमिर क्षेत्रफलमा फैलिएको विशेष आर्थिक क्षेत्र सिंगापुरभन्दा चार गुणा र चीनको सेन्चेनभन्दा दोब्बर ठूलो आकारको हुने अपेक्षा गरिएको छ। हङकङसँग जोडिएको सेन्चेनको सफलता मलेसिया दोहोर्‍याउन चाहन्छ।

‘दुई मुलुक एउटै टिमका रूपमा मिलेर काम गरेको विरलै देख्न पाइन्छ,’ सामारोहमा मलेसियाली प्रधानमन्त्री अनवरले भनेका छन्, ‘दुवै देश मिलेर काम गरेको, दुवै देशको प्रवद्र्धन गरेको र लगानी आकर्षित गरेको दृश्य विश्वमा अन्यत्र कहीँ पाउनुहुन्न।’

यसअघि पनि जोहोर र सिंगापुरको सम्बन्ध सुदृढ गर्ने कोसिस भएका थिए। हरेक दिन ३ लाख मानिसले जोहोर–सिंगापुर स्थल सीमा पार गर्छन्। जसका कारण यी दुई स्थानलाई जोड्ने दुईवटा बाटोमा घण्टौँ ट्राफिक जाम हुने गर्छ।

यी दुई स्थानलाई जोड्न २० अर्ब डलरमा तीव्रगतिको रेल बनाउने परियोजना खर्चलगायतका विषयमा दुई देशबीच कुरा नमिल्दा रोकिएको थियो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad