एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्ध घेराबन्दी भइरहेको दाबी गर्दै त्यसलाई पराजित गरेर अघि बढ्ने बताएका छन्।
केन्द्रीय कमिटीको आठौँ बैठकको समापन सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त दाबी गरेका हुन्।
बैठकमा सम्बोधन जारी रहँदा केन्द्रीय सदस्य उषाकल राईले प्रधानमन्त्री एवं अध्यक्ष ओलीको सम्बोधनको बुँदा सामाजिक सञ्जालमा सेयर गरेकी छन्।
राईका भनाइमा, सम्बोधनका क्रममा ओलीले एमालेविरुद्ध परिकल्पित समाचार बनाएर प्रहार गरिएको दाबी गर्दै आफूहरू दृढताका साथ दह्रो भएर सत्यका पक्षमा उभिने उल्लेख गरेका छन्।
‘हामीमाथि आन्तरिक र बाह्य चौतर्फी हमला छ,’ ओलीले भनेका छन्, ‘तर हामी निरन्तर अगाडि बढी नै रहनेछौँ।’
‘हाम्रो महान् कार्यको रिस–डाह गर्नेहरू अनेक लान्छना लगाएर एमालेलाई कमजोर बनाउन लागिरहेका छन्,’ ओलीले भनेका छन्, ‘आपराधिक कुरा गरेर, जनतालाई भ्रममा पारेर एमालेलाई आक्रमण गर्ने काम भएको छ। यी सबै षड्यन्त्र र आक्रमणका विरुद्ध सबै पार्टीपंक्ति एक ढिक्का भएर हामी लड्नेछौँ।’
ओलीले राष्ट्रियता, राष्ट्रिय स्वाभिमान, लोकतन्त्र मुलुकको विकास र समृद्धि आफूहरूको प्रथम प्राथमिकताका विषय भएको पनि उल्लेख गरेका छन्।
Shares

प्रतिक्रिया