राजनीति


प्रचण्डको निष्कर्ष : चुनावमा कांग्रेस-एमालेसँग मिल्नु गल्ती भो, अब सहकार्य हुँदैन

‘नयाँले विकल्प दिन सकेनन्, माओवादी घटकबीच एकता अनिवार्य’
प्रचण्डको निष्कर्ष : चुनावमा कांग्रेस-एमालेसँग मिल्नु गल्ती भो, अब सहकार्य हुँदैन

सागर न्यौपाने
पुस २१, २०८१ आइतबार २१:११, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस र नेकपा एमालेसँग आगामी दिन सहकार्य गर्न नहुने बताएका छन्।

आइतबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन पेस गरेका प्रचण्डले संसदवादी शक्तिबाट लोकतन्त्रमा सुधार गर्न नसकिने उल्लेख गरेका हुन्। 

‘राष्ट्रिय परिस्थितिको चर्चा’ उपशीर्षकमा उनले पुराना दलहरूसँगको सहकार्य जनआन्दोलन, शान्ति प्रक्रिया, संविधान लेखन र यसका कार्यान्वयनका लागि स्वाभाविक र अनिवार्य रहेको स्वीकार गरेका छन्। तर ती दलसँग मिलेर चुनाव लड्नु गल्ती भएको उनको ठहर छ।  

‘युद्ध र संविधान कार्यान्वयनसम्म आइपुग्दा सहकार्य अनिवार्य थियो,’ प्रतिवेदनमा भनिएको छ, ‘तर, कुनै न कुनै रूपमा विगतमा कांग्रेस–एमालेसँग मिलेर चुनाव लड्नु गल्ती थियो भन्ने कुरा हामीले आत्मसमीक्षा गर्नुपर्छ।’

०७९ को चुनावपछि एमाले र कांग्रेससँग मिलेर पालैपालो १८ महिना सरकारको नेतृत्व गरेका प्रचण्डले तिनै दलबाट जनताको लोकतन्त्र हासिल गर्न नसकिने निष्कर्ष निकालेका छन्। 

३ घण्टा लगाएर ३० पृष्ठको प्रतिवेदन वाचन गरे पनि त्यो दस्तावेज केन्द्रीय सदस्यलाई उपलब्ध गराइएको छैन। बैठकमा उनले सबैलाई टिपोट गर्न भनेका छन्। 

‘कांग्रेस–एमालेजस्ता परम्परागत शक्तिहरूलाई अहिलेको परिवर्तन पनि बढी लागेको छ, जुन बेला बेलामा उनीहरूको पुराना सामन्ती शक्तिहरूसँग स्वर मिल्न गएको छ,’ प्रतिवेदन सुनेका एक केन्द्रीय सदस्यले नेपालखबरसँग भने, ‘करिब दुई दशकको कांग्रेस र एमालेसँगका विभिन्न समयको सहकार्य र संघर्ष आवश्यक र सान्दर्भिक नै थिए। अब भने हाम्रो अगाडि ठूलै घुम्ती आएको छ। लोकतन्त्रलाई आम जनताको बनाउने वा दलाल बिचौलियाको बनाउने? क्रान्तिको उपलब्धि रक्षा गर्दै थप परिवर्तनका लागि अगाडि बढ्ने वा यथास्थितिमा रमाउँदै पश्चगमनतिर जाने? अहिले हामी घुम्तीमा छौँ।’

नयाँ भन्नेहरूले पनि विचार, राजनीति र कार्यशैलीको भरपर्दाे ढंगले विकल्प दिन नसकेको भन्दै प्रचण्डले क्रान्तिकारी विकल्प बन्नका लागि सस्तो लोकप्रियताको आधारमा भन्दा पनि स्पष्ट विचार, राजनीति, कार्यक्रम र कार्ययोजनासहित अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्। 

‘यस सन्दर्भमा जनताले तमाम सीमा र कमजोरीका बाबजुद हाम्रो पार्टीलाई नै क्रान्तिकारी विचारको रूपमा हेर्न थालेका छन्। अब लोकतन्त्रलाई पुरानै ढर्रामा चलाउन सकिँदैन। सर्भिसिङ गर्ने बेला आयो। हाम्रो काँधमा लोकतान्त्रिक गणतन्त्रलाई सर्भिसिङ गर्ने जिम्मेवारी आएको छ। लोकतान्त्रिक गणतन्त्रको विकल्प समाजवादको आधार निर्माण गर्दै वैज्ञानिक समाजवादी गणतन्त्र हो। यो सामन्ती राजतन्त्र वा अहिलेकै यथास्थिति होइन।’

अध्यक्ष प्रचण्डले चुनवाङ बैठकले गणतन्त्रलाई अरुले नै कब्जामा लिनसक्ने भनेर गरेको संश्लेषण ठ्याक्कै मिलेको दाबी गरेका छन्। 

‘२०६२ को चुनवाङ बैठकले एउटा निष्कर्ष निकालेको थियो, अब हामी गणतन्त्रमा त गयौँ गयौँ, तर यो गणतन्त्रलाई बुर्जुवाहरूले आफ्नो बनाउन प्रयास गर्नेछन्। हामीले जनताको गणतन्त्र बनाउन प्रयत्न गर्नेछौँ। अहिले हामीले निकालेको संश्लेषण सही भयो,’ प्रतिवेदनमा उनले भनेका छन्, ‘अब हामी जनताको गणतन्त्रको लागि लागिपर्नु पर्नेछ।’

राष्ट्रिय राजनीतिको समीक्षा गर्दै प्रचण्डले माओवादी घटक एक हुनैपर्ने उल्लेख गरेका छन्। उनले १८ महिने सरकारको चर्चा पनि गरेका छन्। भ्रष्टाचारको फाइल खोलेको भन्दै जनतामा सुशासन सुरुवात थालेको प्रचण्डले लेखेका छन्।

‘सबैभन्दा पहिला हामी एक हुनुपर्छ। त्यसपछि हामीसँग विचार मिल्नेसँग मिलेर अगाडि जानुपर्छ,’ प्रचण्डको निष्कर्ष छ, ‘अब कांग्रेस–एमालेसँग आगामी चुनावमा कुनै हालतमा मिल्नुहुँदैन। आफ्नै चुनाव चिह्न र आफ्नै शक्तिको बलमा अगाडि बढ्नुपर्छ।’

उपनिर्वाचनको समीक्षा
मंसिर १६ गते भएको उपचुनावबाट प्रचण्ड हौसिएका छन्। उनले प्रतिवेदनमा सो कुरा उल्लेख गरेका छन्। 

‘उपचुनावले एमालेलाई धक्का लाग्यो, कांग्रेसले पनि क्षति व्यहोर्‍यो। तर, नेकपा माओवादी केन्द्रलाई नयाँ आधारमा अगाडि बढ्न यसले उत्साह पैदा गर्‍यो,’ प्रतिवेदनमा भनिएको छ, ‘माओवादी नै अबको वैकल्पिक शक्ति हो भन्ने जनताको मतले देखाएको छ। माओवादी एक्लै चुनाव लड्न सक्दैन भन्ने जुन प्रकारको भ्रम थियो, त्यो पूरै क्रमभंग भयो।’

कांग्रेस–एमालेप्रतिको घट्दो जनविश्वास र माओवादी आकर्षणले अब आफ्नो राजनीतिक धारमा चुनाव लड्नुपर्छ भन्ने शिक्षा पाएको प्रचण्डले सुनाए।

उनले भने, ‘हामी घट्नुपर्ने घटिसक्यौँ, अब बढ्नेतिर लाग्यौँ। तर, अरुभन्दा फरक हुन सकिएन भने हुँदैन। ०८४ को चुनावको लागि अहिलेदेखि लाग्नुपर्छ। अब वैकल्पिक शक्ति हामी नै हो। कांग्रेस–एमालेले लिन सक्दैनन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad