राजनीति


उपचुनावबारे एमाले समीक्षा–सहरी जनमतमा आकर्षण नबढ्नु गम्भीर

उपचुनावबारे एमाले समीक्षा–सहरी जनमतमा आकर्षण नबढ्नु गम्भीर

नेपालखबर
पुस २१, २०८१ आइतबार १५:५९, काठमाडौँ

सत्तारुढ नेकपा एमालेले गत मंसिर १६ गते भएको स्थानीय तहको उपचुनावमा पार्टीले प्राप्त गरेको परिणाम उपलव्धिपूर्ण र सकारात्मक भएको निष्कर्ष निकालेको छ। 

आइतबारदेखि सुरु भएको एमाले केन्द्रीय कमिटीमा अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमा उपचुनावको समीक्षा गर्दै लेखिएको छ, ‘निर्वाचनमा नेकपा (एमाले) ले एक गाउँपालिका अध्यक्ष, दुई उपाध्यक्ष र ५ वडा अध्यक्ष सहित ८ स्थान मा जीत हासिल ग¥यो। हामीले जितेका ७ वटा वडा रिक्त भएको अवस्थामा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष समेत समग्रमा ८ स्थानमा हासिल गरेको विजय थप हाम्रा लागि उपलव्धिपूर्ण र सकारात्मक परिणाम हो।’ 

यद्यपि, सहरी क्षेत्रमा एमालेप्रति आकर्षण नबढ्नुलाई भने गम्भीर रुपमा लिनुपर्ने प्रतिवेदनमा उल्लेख छ। ‘यद्यपि, हामीले गरेको अपेक्षाभन्दा यो कम हो,’ प्रतिवेदनमा भनिएको छ, ‘विगतमा जितेका वडामध्ये एउटामा मात्र विजय कायम हुनु (यद्यपि यो प्रवृत्ति अन्य दलको हकमा पनि उत्तिकै देखिएको छ), कीर्तिपुर जस्तो ठाउँमा अपेक्षित परिणाम हासिल नहुनु र सहरिया जनमतमा अपेक्षित आकर्षण बढ्न नसक्नुलाई हामीले गम्भीरतापूर्वक लिनु पर्छ।’

सानो खालको चुनाव भएकाले यसले राजनीतिक शक्ति सन्तुलनमा ठूलो असर नपार्ने उल्लेख गरिएको प्रतिवेदनमा चुनावले नयाँ शक्ति भनिने दल र राजावादी शक्तिहरुको खस्कदो अवस्थालाई देखाउने बताइएको छ। ‘७७ जिल्ला समन्वय समिति र ७५३ पालिकाका कुल ८,४०३ जनप्रतिनिधिमध्ये ४४ पदमा भएको र कुल २,२६,७९९ मतदाता (१.२६ प्रतिशत) ले मतदान गरेको यस निर्वाचनले राजनीतिक शक्ति सन्तुलन र भविष्यको निर्वाचनको ठूलो पूर्वानुमान गर्दैन,’ प्रतिवेदनमा भनिएको छ, ‘तर पनि २०७९ को तुलनामा सम्बन्धित ठाउँमा मतदाताहरुको बदलिँदो रुझान, जनप्रतिनिधिप्रतिको असन्तुष्टि र नयाँ भनिने दल र राजावादी शक्तिहरुको खस्किँदो अवस्थालाई बुझ्न भने यसले केही आधार दिन्छ।’

माओवादीले भ्रामक सन्देश सम्प्रेषण गर्ने प्रयास गरेको आरोप
उपचुनवालाई लिएर माओवादी केन्द्रले भने भ्रामक सन्देश सम्प्रेषण गर्ने प्रयास गरेको आरोप एमालेको छ। गत चुनावमा ६ दलीय गठबन्धनका कारण कतिपय स्थानमा माओवादीले उम्मेदवार नै नउठाएका कारण अहिले मत बढेको जस्तो देखिएको एमालेको तर्क छ।
‘यस उपनिर्वाचन परिणामलाई लिएर नेकपा (माओवादी केन्द्र) ले एउटा भ्रामक सन्देश सम्प्रेषण गर्ने प्रयास गरिरहेको छ- आफ्नो दल पहिलो भएको र लोकप्रिय मत ह्वात्तै बढेको आदि,’ प्रतिवदेनमा भनिएको छ, ‘माओवादी केन्द्रले ८ बाट बढाएर ११ स्थानमा विजय हासिल गरेको सत्य हो, तर हिजो ६ दलीय गठबन्धनका बेला आफूले उम्मेदवार नै नउठाएको र त्यसै कारण शून्य मत भएको ठाउँमा अहिले प्राप्त भएको मत जोड्दा मात्र उसको मत बढेको देखिएको हो।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad