नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकप्रिय मत प्राप्त गर्ने दलले ५ वर्ष नै सरकार संचालनको सुनिश्चितताको लागि संविधान संशोधन गरिने बताएका छन्।
नेपाली कांग्रेस गण्डकी प्रदेशले शनिबार पोखरामा गण्डकी प्रदेशभित्रका जनप्रतिनिहरुका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा गठबन्धनको तितो अनुभव मात्रै रहेको भन्दै त्यस्तो व्यवस्था गर्नुपर्नेमा जोड दिएका हुन्। ‘जुन पार्टीले लोकप्रिय मत प्राप्त गर्छ, त्यसले ५ वर्ष सरकार चलाउन पाउनुपर्छ,’ थापाले भने, ‘हामीलाई समावेशी पनि चाहिएको छ। हाम्रो संसद्मा दलित चाहिएको छ। मधेसी चाहिएको छ। महिला अझ बढी चाहिएको छ। त्यो कुरामा कम्प्रोमाइज नगरीकन हामी निर्वाचन प्रणालीमा काम गर्छौं।’
यसअघि गत मंगलबार यस्तै प्रस्ताव कांग्रेसकै अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि रोखका थिए। उनले एउटै प्रधानमन्त्रीले ५ वर्ष नेतृत्व गर्नसक्ने गरी संविधान संशोधन गर्नुपर्नेमा जोड दिएका थिए।
महामन्त्री थापाले लोकप्रिय मत प्राप्त गरे पनि सरकार चलाउन नपाउने र गठबन्धन गर्नै पर्ने बाध्यता रहेको तर गठबन्धन संस्कार नेपालमा नरहेको जिकिर गरे। ‘हामीले के अनुभव गर्यौं भने एउटा राजनीतिक दलले अत्यधिक लोकप्रियता प्राप्त गरेको छ,’ उनको भनाइ छ, ‘आम नागरिक यो सरकार यसले चलाओस् भन्ने चाहान्छन्। मतमा अभिव्यक्त पनि गर्छन। तर, निर्वाचन प्रणाली यस्तो बनाइएको छ कि त्यो राजनीतिक दलले त्यो ५ वर्षको अवधि सरकार चलाउन पाउँदैन।’
थापाले अघि भने, ‘सरकार चलाउन नपाउने भएपछि अर्को सरकारसँग मिलेर चलाउनुपर्छ। अर्को पार्टीसँग मिलेर चलाउने कुरालाई हामीले गठबन्धन भन्यौं। गठबन्धनको यति तितो अनुभव हामीसँग रह्यो, गठबन्धनको विकृत अभ्यास हाम्रो सन्दर्भमा भयो। चुनावअघिको मात्रै होइन, चुनावपछिको पनि।’
सरकारमा बसेको प्रधानमन्त्रीले प्रत्येक १० दिनमा आएर यो सरकार परिवर्तन हुँदैन भनेर भन्नु परिरहेको भन्दै उनले नेपालको सन्दर्भमा गठबन्धन फिट नभएको समेत उल्लेख गरे। ‘यही भारतमै हेरौं, जर्मनमीमा हेरौं, १५, २० वर्ष गठबन्धनको सरकार चल्यो,’ थापाको भनाइ छ, ‘नचल्ने होइन। तर, गठबन्धनको सरकार चलाउन एउटा संस्कार, संस्कृति हुन्छ। हाम्रो सन्दर्भमा त्यो फिट भएन भन्न मिल्छ।’
थापाले अहिलेको सरकारको साइज पनि निकै ठूलो भएको बताए। प्रदेश सरकारको मन्त्रीको संख्याबारे बोल्दा उनी संघीय सरकारको मन्त्रीको संख्याबारे भने मौन बसे। ‘सरकारको साइज ठूलो भयो, यत्रो सरकार चाहिँदैन,’ उनले भने, ‘प्रदेशमा हामीले ४, ५ जना कति मन्त्री बनाउने हो, संविधानमा बाँध्नुपर्छ।’
‘अहिले संविधानमा २५ जना मन्त्री भनेर नलेखेको भए केन्द्रमा ५० जना मन्त्री हुन्थ्यो,’ उनले थपे।
संविधान संशोधनका बारेमा कांग्रेसभित्र छलफल भइसकेको र अब एमालेसँग छलफल गर्ने उनले बताए। त्यसपछि अन्य दलहरुसँग पनि छलफल गर्दै नागरिकका बीचमा पनि जाने थापाको भनाइ छ। ‘पार्टीमा हामीले छलफल गर्यौं, कांग्रेस र एमाले हामीले एउटा सानो कार्यदल बनाएका छौँ,’ उनले भने, ‘त्यहाँ हामीले छलफल गर्छौं। र, अहिलेलाई कुन कुन विषयमा काम गर्ने भनेर समझदारी गर्छौं। त्यसपछि हामी कोसँग संवाद गर्छौं? माओवादीसँग गर्छौं। त्यसपछि हामी संसदमा भएका मधेशकेन्द्रित दल, रास्वपा लगायतसँग छलफल गर्छौं। त्यसपछि हामी एउटा समझदारी बनाएर नागरिकका बीचमा संवाद गर्छम।’
उनले संविधान संशोधन गरिँदा गणतन्त्र, संघीयता र समावेशिताजस्ता विषयहरु चाहिँ नचलाउने प्रष्ट पारे। ‘हामी संविधानको जुन बाटो यात्रा सुरु गरेका छौँ,त्यसलाई सम्हाल्छौँ,’ थापाले भने, ‘कुनै एडभेञ्चेर हुँदैन। यसमा उपद्रो गर्न दिँदैनौँ। यसकै सफलताको लागि केही चलाउँछौँ। हिजोजस्तो कमा पनि फूलस्टप पनि चलाउँदैनौँ भनेर भन्दैनौँ। २०४७ सालको संविधानमा एउटा अनुभव गर्यौ। एउटा असफलता भोगिसक्यौँ। हामी संविधानका शब्दलाई जीवन दिने काम राजनीतिक दल र नागरिक समाजले नै गर्ने हो। हामीले अनुभव गरेका छौँ। यसलाई जीवन दिने काम,अर्थ दिने काम गछौँ। संविधानमा केही कुरा चलाउँछौँ। तर, हामी गणतन्त्र, संघीयता र समावेशिता चलाउँदैनौँ। यो कुरा कसैले हामीलाई सिकाउनु पर्दैन,कसैले बोकाइदिएको भारी हैन हैन। हामीले ल्याएको हो (संविधान), हामीले गरेको हो भन्नसक्नुपर्छ।’
Shares

प्रतिक्रिया