नेकपा एमालेबाट निष्कासित नेता भीम रावलले पार्टीबाट आफ्नै कारणले बाहिरिएको भनी प्रचार गरेको भन्दै त्यसप्रति आपत्ति जनाएका छन्। बुधबार आगामी राजनीतिक कदमबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘विधान महाधिवशेनबाट पारित विधानमा पदाधिकारीमा दिएको उम्मेदवारी केन्द्रीय सदस्यमा स्वतः नरहने भएकाले मैले केन्द्रीय सदस्यमा कसरी जिते भन्दै सपथ लिन नमानेको हुँ।’
उनले अगाडि भने, ‘अहिले आएर सदस्य पदमा म निर्वाचित नभएको भनेर उल्लेख भएको देख्दा सोध्न चाहान्छु, महाधिवेशनको बन्द सत्रमा गरिएको घोषणा ठिक थियो कि अलिहे पत्रमा फरक किसिमले लेखिएको कुरा साँचो हो?’
रावलले पार्टीको जिम्मेवारी दिनेबारे अध्यक्ष केपी शर्मा ओली वा उनी पक्षका कुनै पनि नेताले आफूसँग परामर्श नगरेको दाबी गरे। ‘पत्रमा मलाई आफ्नै कारणले कार्यकारी भूमिकाबाट बाहिरिएको आरोप लगाइएको रहेछ,’ उनले भने, ‘के जिम्मेवारीबारे तपाईं अध्यक्ष केपी शर्मा ओली लगायत कसैले छलफल गरेको थियो? पार्टीमा पाँच दशक काम गरेको र अध्यक्षमा उम्मेदवारी दिएको मसँग अध्यक्ष मण्डल वा तपाईंबाट कुनै छलफल गरिएन।’
उनले थपे, ‘त्यसरी नै महाधिवेशनपछि तपाईं लगायत जिम्मेवारीबारे कसैले पनि कहिल्यै कुरा गरेन। यस्तो तथ्यमाथि पर्दा हाल्न आफ्नै कारणले बाहिरिएको भन्नु लज्जास्पद छ।’
‘जिम्मेवारी दिनुअघि सम्बन्धि व्यक्तिसँग परामर्श गर्नु र निजको राय लिनु नेकपा एमालेको जन्मकालदेखि नै गरिएको अभ्यास हो,’ रावलले भनाइ छ, ‘महाधिवेशनको समापन बैठकमा महाधिवेशनबाट निर्वाचित अध्यक्ष लगायतलाई पराजित अध्यक्षका उम्मेदवारले बधाई ज्ञापन गर्ने सामान्य परम्परा र अभ्यास अनुरुप मैले बधाई ज्ञापन गर्छु भन्दा त्यसो पनि गर्न नदिइएको तितो पृष्ठभूमिमा स्थिति सामान्य बनाउन महाधिवेशनपछि तपाईं वा तपाईं पक्षधर नेताले मसँग जिम्मेवारीबारे कुरासम्म गरिएको थिएन।’
आफूलाई सल्लाहकार परिषद्को जिम्मेवारी दिएको आफूले सञ्चारमाध्यमबाट मात्रै थाहा पाएको बताए। ‘मलाई जानकारी नै नदिइ सल्लाहकार परिषद्को सदस्य बनाउने भन्ने कुरा मैले संचारमाध्यमबाट अछाममा थाहा पाएँ,’ रावलको जिकिर छ, ‘यदि मलाई साँच्चै त्यही जिम्मेवारीमा पनि स्वच्छ मनले राख्न खोजेको भए मेरो असहमतिपछि मलाई बोलाएर सल्लाहकार परिषद्मा राख्नुको कारणबारे विधिवत जानकारी गराइन्थ्यो होला नि?’
Shares

प्रतिक्रिया